काठमाडौं – नेपाली कांग्रेसको गगन थापा-विश्वप्रकाश शर्मा समूहको अगुवाइमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

तर यो कारबाहीलाई विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।
जेनजी आन्दोलनपछि नेतृत्त्व रुपान्तरणको एजेण्डा बोकेर गगन- विश्व लगायतका नेताहरूले देउवासँग महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए । तर चुनाव अघि महाधिवेशन गर्न असम्भव हुने भन्दै देउवा समूह तयार नभएपछि कांग्रेस विभाजित हुने अवस्थामा पुग्यो । विभाजनको एउटा विन्दुमा पुगेर थापा सभापति भए । देउवा समूहसँगको विद्रोहबाट आएका भएकाले विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चयन गरेको हो ।
त्यस्तै विशेष महाधिवेशनबाट उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।


















