खाेज्नुहाेस

बाह्र धार्नी अदुवा खायो तितो न टर्‍ओ

Image

✍️ कपिलराज भाट

विद्यालयहरुमा चार प्रकारको हेडमास्टरहरु छन् :

attariya hospital

१. दास हेडमास्टर 

यो दर्जाको हेडमास्टरलाई खेलौना (Puppet headamaster) पनि भनिन्छ । अरुको इशारा र आदेशमा मात्र काम गर्नु उनीहरुको प्रमुख विशेषता हो । स्कुल भित्र र स्कुल बाहिरका स्वार्थ समुहको निजी कारिन्दाको रुपमा मात्र यस दर्जाको हेडमास्टरले काम गर्छ । स्वार्थ समुहको हित बाहेक विद्यालय सुधार, सिकाइ सुधार, बालबालिकाको चाहनाको सम्बोधन भन्ने कुरा यस किसिमको हेडमास्टरको दिमागमा आउदैन । आफ्नो पद जोगाउन जसको पनि दास बन्न तयार हुन्छन् । कार्य क्षमताको प्रदर्शन भन्दा गुलामकारिता उनीहरुको दिनचर्या हुन्छ।

navjiwan hospital

२. मालिक हेडमास्टर 
विद्यालयलाई निजी सम्पतीको रुपमा चलाउन खोज्छन् यस दर्जाका हेडमास्टरहरु । शिक्षक/कर्मचारीलाई आफ्नो निजी नोकर/खेतला जस्तो ठान्छन् । शिक्षक/कर्मचारीको योग्यता र प्राज्ञिकतालाई कुनै सम्मान र कदर गर्दैनन् । विद्यार्थीको रुचि, चाहना र खुबीलाई कुनै वास्ता गर्दैनन्। शिक्षकहरुको क्षमताको आधारमा कार्य बिभाजन गर्नु भन्दा पनि आफ्नो आदेश/परमादेशमा काम गर्न लगाउनुमा उनीहरु रुचि गर्छन् । छलफल, सल्लाह र परामर्श उनीहरुको शब्दकोषमा हुदैन । जस जति आफूलाई अपजस जति अरुलाई थोपर्न चाहन्छन् । शिक्षक/कर्मचारीसँग रुखो बोली बोल्नु र कथित उच्च व्यवहार देखाउनुमा उनीहरु आफ्नो श्रेष्ठता ठान्छन । यद्यपि उनीहरु सदैब आफ्नो जयजयकार होस भन्ने ठूलो आकंक्ष
राख्छन् ।

३. कुम्भकर्ण हेडमास्टर 
आफू को हुँ भन्ने कुरा नै थाह नपाउने हेडमास्टरहरु यस दर्जामा पर्छन् । उनीहरुलाई आफू र आफ्नो कामको जिम्मेवारी बारे केही थाह हुन्न । दुनियाँमा के भइरहेको छ भन्ने कुरा पनि थाह पाउदैनन् । काम भए खुसी पनि हुदैनन् , काम नभए दुखी पनि हुदैनन् । नेपाली उखानमा व्यक्त गर्ने हो भने “बाह्र धार्नी अदुवा खायो तितो न टर्रो” हुने हेडमास्टरहरु यस दर्जा भित्रका सदस्य हुन । यसप्रकारको हेडमास्टर भएको स्कुल “भगवान भरोसा” चलिरहेको हुन्छ । उनीहरु आफ्नो जिम्मेवारीप्रती यति बेखबर हुन्छन कि मानौ भगवानको श्राप परेको कारण उनीहरु हेडमास्टर भएका हुन ।

४. नेतृत्वदायी हेडमास्टर 
विद्यालयलाई साझा संगठन र हेडमास्टर पदलाई संगठनको एक अंगको रुपमा लिएर काम गर्ने हेडमास्टरहरु यस दर्जामा पर्छन । उनीहरु संगठनको नेतृत्व गर्छन तर संगठनका सदस्यहरुलाई जिम्मेवारी बनाउछन । संगठनका सदस्यहरुको क्षमता, योग्यता र प्राज्ञिकताको सदैब सम्मान, कदर र प्रयोग पनि गर्छन् । सामुहिकतामा विस्वास गर्छन तर जस अपजसको जिम्मेवार पनि लिन्छन । हरेक समय नविनतम सोचमा संगठन चलाउन प्रयासरत हुन्छन् । बालबालिकाको रुचि र भावनाको कदर गर्छन् । समस्याको मुकाबिला आवेगले होइन विवेकले गर्छन् । संगठन प्रती सबैको अपनत्व महसुस गराउन सक्नु यो दर्जाको हेडमास्टरहरुको प्रमुख विशेषता हो ।

निचोड 
हाम्रो विद्यालय शिक्षाको प्रमुख समस्या भनेको चौथो दर्जाको हेडमास्टरहरु नियुक्ति गर्न नसक्नु हो । यो दर्जाको हेडमास्टरहरु नभएका होइनन् तर न्यून संख्यामा छन् । तिनै हेडमास्टरहरुको कारण सिमित सामुदायिक विद्यालयहरुले असल अभ्यास गरिरहेका छन र सामुदायिक विद्यालयको इज्जत जोगाइरहेका छन् । यस दर्जाको हेडमास्टर उत्पादन गर्नु राज्यको दायित्व हो । तर दुख साथ भन्नू पर्छ यस दर्जाका हेडमास्टरहरुलाई राज्यले प्रोत्साहन समेत गर्दैन । ताल परे राजनीतिक घुसपैठ गराएर हतोत्साहित गराउने र पदबाटै हटाउने काम गरिन्छ । त्यसैले सामुदायिक विद्यालयको अवस्था सुधार निकै मुस्किलको मामिला हुँदै गइरहेको छ ।

✍️ कपिलराज भाट
प्रधानाध्यापक, अरुणोदय माध्यमिक विद्यालय कैलाली