अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अहिले स्थानीय तहहरू जटिल मोडमा रहेको बताएका छन् । शनिवार मौरीफाँटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको समुद्घाटन तथा वार्षिक साधारण सभामा बोल्दै मेयर ओझाले कृष्णपुर नगरपालिकामा मात्रै नभएर स्थानीय तहहरू जटिल मोडमा भएको बताए ।

उनले स्थानीय तहहरूले एक अरबको बजेट बनाउने गरेको भए पनि त्यसको ठुलो हिस्सा सामाजिक सुरक्षा भत्ता र चालु खर्चमा जाने बताए ।
‘हामीले १ अरबको बजेट बनाउँछौ त्यसमा २५ करोड सामाजिक सुरक्षा भत्तामा जान्छ । नगरपालिकामा करको योगदान जनताबाट २ करोड पनि हुँदैन । अलि खोला भएको हुँदा हाम्रो ९ करोड सम्म आम्दानी हुन्छ, खोलाको ४० प्रतिशत प्रदेशले लग्छ ।’ उनले भने ‘संघले दिने १५ करोड नगद अनुदान, १५ करोड राजश्व बाडफाड दिन्छौ भन्या हुन्छ । तर पोहोर साल १५ करोडमा ४ करोड राजश्व बाडफाडको दिएन । नगर अनुदान पनि १ करोड दिएन । प्रदेशले २ करोड दिन्छु भन्या थियो त्यो चाही आयो ।’ उनले जेनजीको नाममा आगो लागेर उद्योगहरूबाट कर नआउँदा तलब दिन पनि समस्या भएको बताए ।

‘जेनजीको नाममा जति पनि कर तिर्ने उद्योग छन् । आगो लागेको हुनाले तिहारताका राजश्व बाडफाडको रकमबाट तलब खानुपर्ने संघको पैसाबाट तलब पनि खान पाएनन्’ उनले भने ‘नियमित आउने पैसा आउन छोडेको छ ।’ उनले स्थानीय तहहरूलाई सीमित श्रोत साधनमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले चुनौतीका बाबजुद नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्न खोजेको आफ्नै श्रोत साधन प्रयोग गरेर बाटो स्तरोन्नति गरिरहेको, जग्गा नाप जाँचको काम गरिरहेको बताए । उनले जग्गा नाप्नका लागि ल्याएको मेसिन, कागजपत्र भने जेन जी आन्दोलनमा जलेको बताए । उनले आन्दोलनका कारण २५ करोड बजेट पनि रोकिएको बताए ।
उनले मौरीफाँटा खानेपानीले आफ्नो क्षमता बिस्तार गर्न चाहेमा नगरपालिकाबाट पाइप दिने घोषणा गरे । उनले खानेपानीको क्षमता ८ सय घरधुरी भए पनि ४३९ घरमा मात्रै विस्तार भएकाले खानेपानीले थप पाइपलाई बिस्तार गर्न चाहेमा रकम उपलब्ध गराउने बताए ।





















