अत्तरिया – कञ्चनपुरको गड्डाचौकी, बेलौरी सीमा नाकाबाट लागू औषध सहित एकै दिन ६ जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले बेलौरी नगरपालिका – १० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको सुप प्र ०१२ प ३६०० नम्बरको मोटरसाइकललाई चेकजाँच ४ ग्राम ५४० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक गोदावरी नगरपालिका – ८ श्रीपुरका २६ वर्षीय रामजनम चौधरी र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २८ वर्षीय उमेश चौधरी रहेका छन् । यस्तै मंगलबार नै गोप्य सूचनाको आधारमा बेलौरी नगरपालिका – ६ खैराना स्थित भारतबाट नेपाल आउँदै गरेकी स्थानीय ३१ वर्षीय सावित्री चौधरी पक्राउ परेकी छिन ।


उनको साथबाट ४ ग्राम ५२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । मंगलबार नै गड्डाचौकी सीमा नाकाबाट पनि ३ जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका – ११ गडडाचौकी चेकपोष्ट स्थित भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बेदकोट नगरपालिका – ९ लालपुरका २१ वर्षीय अरबिन्द रोकाया, बेदकोट नगरपालिका – ३ का २० वर्षीय सुमित साउँद र बेदकोट नगरपालिका – १० का २१ वर्षीय साजन कठायत पक्राउ परेका हुन ।
उनीहरूको साथबाट २०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।




















