डडेल्धुरा – डडेल्धुरामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन । डोटीबाट डडेल्धुरा आउँदै गरेको बोलेरो जिप गन्यापधुरा गाउँपालिका–३ मछली खोलामा दुर्घटना हुँदा हुँदा ५ जना घाइते भएका हुन ।
लुम्बिनी प्रदेश ०१–००१ च ३३०१ नम्बरको जिप सडकमा पल्टिँदा पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका प्रमुख श्यामराज बोहराले जानकारी दिए ।

जिपमा १३ जना सवार रहेका थिए । उनीहरू तिहारमा भैलो खेलेर उग्रतारा मन्दिर पिकनिकका लागि निस्किएका थिए । दुर्घटनामा सायल गाउँपालिकाकी १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















