धनगढी – जेनजी प्रदर्शनका क्रममा जिल्ला अदालत कैलालीमा भएको आगजनीबाट ३० हजार मिसिल जलेका छन् । सरकारी वकिल कार्यालय, जिल्ला बार एसोसिएसन, अदालतको मुख्य भवनमा भएको आगलागीमा भएको थियो । आगजनीबाट अदालतको अभिलेख कक्ष बढी प्रभावित छ । अदालतका श्रेस्तेदार चेतराज पन्तका अनुसार अभिलेख कक्षमा राखिएका ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् । नष्ट भएका र बाँकी रहेका मिसिलको यकिन तथ्यांक संकलन भइरहेको छ ।
सरकारी वकिल कार्यालय प्रमुख भानदेव जोशीले कार्यालयमा २०५० सालदेखि फैसला भएका सबै मिसिल जलेर नष्ट भएको बताए । उनले भने ‘हामीले ठूलो क्षति व्यहो¥यौं । कुनै कोठामा सामान बाँकी राखेनन् । ५० सालयता फैसला भएका सबै मिसिल खरानी भए ।’

यस्तै अभिलेखतर्फ अभियोजनका लागि आएका सक्कल मिसिल, ८ सय ५३ थान मुद्दाका नक्कल मिसिल, हालसम्म आएका नक्कल मिसिल र फैसला भएका (अभिलेख), सबै कर्मचारीका व्यक्तिगत फाइललगायत सम्पूर्ण मिसिल जलेका छन् ।

चालु मुद्दाका नक्कल मिसिल, अभिलेख राखेका सबै मिसिल, अदालतबाट फैसला भएर आएका ४८ थान मिसिल, पुनरावेदन दर्ता रजिस्ट्रर (२०६० देखि हालसम्मका), हालसम्मका निर्णय किताब सबै, सत्य निरूपण आयोगमा दर्ता भएका २ सय थान सक्कल निवेदन, अभियोजन हुन बाँकी रहेका सक्कल मिसिललगायत सम्पूर्ण कागजात जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।
आगजनीबाट अदालतमा ५ करोडभन्दा बढीको भौतिक र जिन्सी क्षति भएको छ । भवनका झ्यालढोका, दराज, कम्प्युटर, प्रिन्टर, स्क्यानर, सूचना प्रणाली र सोलार सिस्टम लगायतका सामान जलेको अदालतका श्रेस्तेदार पन्तले बताए । उनका अनुसार सवारी साधनको क्षति आकलन हुन बाँकी छ । भदौ २४ को जेन जी आन्दोलनका क्रममा ५ थान सरकारी गाडी, दुई मुद्दाका लागि आएका गाडी र १ सय थानभन्दा बढी मोटरसाइकल जलाइएका थिए । सवारी साधनको मूल्य आकलन भए क्षति अझै बढ्ने पन्तले जानकारी दिए ।
ठूलो भौतिक, आर्थिक क्षतिका बाबजुद पनि अदालतले आंशिक सेवा भदौ २९ देखि नै सुरु गरिसकेको थियो । त्यति बेला म्याद थप, थुनछेक, बन्दी प्रत्यक्षीकरण, निवेदनको सुनुवाइ र कल डिटेलसम्बन्धी सेवा अदालतले बाहिरबाटै दिएको थियो । सर्भरमा क्षति पुगेपछि मुद्दा दर्ता भने अहिले बन्द छ । तिहार र छठ पर्वपछि मुद्दा दर्ता सुरु गर्ने अदालतले जनाएको छ । यद्यपि, सरकारी वकिल कार्यालयबाट आउने अभियोग दर्ता भइरहेका छन् ।
अहिले जिल्ला अदालतले सेवाग्राहीलाई बढीभन्दा बढी सेवा दिन प्रयास गरिरहेको छ । सुदूरपश्चिमका अन्य ८ वटै जिल्लाबाट कम्प्युटर, स्क्यानर र अन्य आवश्यक सामग्री ल्याएर सेवा सुचारु गरेको श्रेस्तेदार पन्तले बताए । अदालतले गएको सोमबारबाट मुद्दा मिलापत्र, मुद्दा फिर्ता, अधिकृत वारिसनामा प्रमाणित र विवाह दर्ता (कोर्ट म्यारिज) लगायतका थप सेवा सुचारु गरेको छ । यससँगै अदालत पुनः निर्माणको काम पनि भइरहेको छ । भवनहरूमा वायरिङ, इन्टरनेट जडान गर्ने काम सकिएको छ । ‘अदालत व्यवस्थापनको काम सुधारोन्मुख छ । सरसफाइ, फाँट व्यवस्थापन र सूचना प्रविधिमैत्री सोधपुछ कक्षको व्यवस्थापन भइसकेको छ,’ अदालतका श्रेस्तेदार पन्तले भने ।


















