धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुबाट निवेदन माग गरेको छ । प्रशासनले आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च उपलब्ध गराउनका लागि निवेदन माग गरेको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कैलालीका ५४ जना घाइते भएको सरकारी तथ्याङ्क छ ।
निवेदन दिएका घाइतेलाई कागजात र प्रमाणका आधारमा घाइते परिचयपत्र तथा खर्च वाफत २० हजार रुपियाँ उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रशासनले घाइतेहरुलाई सम्बन्धित स्थानीय तहको सिफारिससहित अस्पताल भर्ना टिकट, घाइतेको बैङ्क खाता नम्बर, हालसालै खिचिएको दुई थान फोटो, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर घाइते स्वयमलाई उपस्थित हुन अनुरोध गरेको छ ।



















