खाेज्नुहाेस

कैलालीमा पालिका अध्यक्षको घरमा सरकारी एसी, आगजनी पछि भयो खुलासा  

Image

धनगढी – कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीन वटा एयर कन्डिसनर (एसी) लगाएको खुलेको छ । सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ विपरीत उनले कैलारी गाउँपालिका–४, भितरियास्थित घरमा पालिकाको खर्चमा एसी लगाएका हुन ।

अध्यक्ष चौधरीको घरमा ग्री एक टनका दुई थान र ग्री १.५ टनका एक थान एसी लगाइएको थियो । जेनजी आन्दोलनकारीले अध्यक्ष चौधरीको निवासमा आगजनी गरेपछि तीन वटै एसी जलेर नष्ट भएपछि सो कुरा बाहिर आएको हो ।

attariya hospital

गाउँपालिकाको कार्यालयले पालिकामा भएको सरकारी सम्पत्ति क्षतिको विवरण तयार पार्दा अध्यक्ष चौधरीको घरमा रहेको एसीलगायतका अन्य विद्युतीय सामग्री जलेर नष्ट भएको उल्लेख गरेपछि मात्रै उनले सरकारी खर्चमा आफ्नो घरमा एसी लगाएको तथ्य बाहिरिएको हो ।

यसै गरी सरकारी खर्चमै चौधरीको निवासमा दुई थान ब्याट्री (भोल्टा दुई सय एएच), चार थान सिलिङ पङ्खा र इन्भर्टर (३२० भिए) एक थान लगाइएको थियो । यी सबै सामग्री जलेर नष्ट भएका छन् । आन्दोलनकारीले चौधरीको घरमा आगजनी गरेपछि उनको पक्की घर जलेर नष्ट भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ९पहिलो संशोधन० ऐन, २०७६ बनाएको छ । त्यो ऐनमा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी निवासमा सरकारी खर्चमा एसी लगाउन पाइने कुराकहीँ पनि उल्लेख छैन ।