खाेज्नुहाेस

आकाश खुलेपछि किसानलाई धान काट्ने चटारो

Image

अत्तरिया – मौसममा सुधार आएसँगै किसानलाई धान काट्ने चटारो सुरु भएको छ । खेतमा पाकेर झुलिसकेको बर्खे धान बाली प्रतिकूल मौसमका कारण काट्न नपाएका किसान आकाश खुलेपछि धान काट्न सुरु गरेका हुन । यस वर्ष दसैँ सँगै मनसुनी वर्षा भित्रिएपछि किसानहरूले धान काट्न पाएका थिएनन् । सुदूरपश्चिमका तराइका जिल्लामा धान पाकेर पहेलपुर हुँदा पनि काट्न नपाएका किसाहरुलाई घाम लागेपछि भने धान काट्न भ्याइनभ्याइ भएको छ ।

कैलालीको गोदावरी – १ मनेहरका किसान भोला राम चौधरीले यस वर्ष धान पाकेपछि पानी पर्दा धान बाली भित्र्याउन ढिलाइ भएको बताए । करिब २ बिगाहामा धान खेती गरेका उनले बिहीबार देखि मात्रै काट्न सुरु गरेको बताए । ‘धान पाकेर पहेलपुर भएको थियो तर, पानी पर्ने क्रम नरोकिएपछि काट्न सकेनौ’ उनले भने ‘आज (बिहीबार) देखि राम्ररी घाम लागेपछि धान काट्न सुरु गरेका छौ ।’ उनले घाम लागे पनि खेतमा पानी नसुकेका कारण धान काट्न समस्या भएको बताए ।

attariya hospital
navjiwan hospital

अर्का किसान रामलाल चौधरीले यस वर्ष पानी परेका कारण धान काट्न निकै ढिलाइ भएको बताए । उनले पाकेको धानको बाला समेत भुईँमा लछारिने अवस्था रहेको बताए । ‘धान पुरै पाकिसकेकाले ढलिसकेको छ’ उनले भने ‘पानी परेका कारण समयमा काट्न सकिएन । अहिले पनि खेतमा पानी जमेकाले काट्न सक्ने अवस्था छैन ।’ उनले एक दुई दिन लगातार घाम लागेमा धान काट्न सहज हुने बताए ।

अर्की किसान फुलमती चौधरीले भने काटेको धान भिजेर खत्तम भएको बताइन । उनले पानी पर्दैन होला भनेर काटेको धान भिजेको बताइन । ‘अस्ति नै पानी पर्दैन होला भनेर धान काटेको धान काटेपछि पानी परेर पुरै भिज्यो’ उनले भनिन् ‘घाम लागेपछि सुकाएकी छु । अब कस्तो हुन्छ हेरौँ ।’

मनसुनी वर्षाले नेपालका मध्य तथा पूर्वी क्षेत्रमा ठुलो वर्षा भएर धनजनको समेत ठुलो क्षति पुगेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने पानी परेको थिएन । तर, आकाश बादलले ढाकिएको र सरकारले २० गते सम्म धान नकाट्न सूचना नै जारी गरेका कारण किसानले धान काट्न पाएका थिएनन् । असोज २० गते साँझ पुनः सुदूरपश्चिममा ठुलो पानी परेपछि किसानले धान काट्न रोकिएका थिए । २१ र २२ गते पनि मौसम सफा नभएपछि धान काट्न नपाएका किसानले बिहीबार आकाश सफा भएपछि धमाधम धान काट्न सुरु गरेका छन् ।

कृषि विकास निर्देशनालयको तथ्याङ्कका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा उन्नत बिउ र प्रविधिको प्रयोगले धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको छ ।