अत्तरिया – कैलालीको गोदावरीमा निर्माण सुरु गरिएको आधुनिक आर्यघाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नदीमा पानी नहुँदा शव दाहसंस्कारमा हुने समस्यालाई मध्यनजर गरेर अटोमेटिक फल्सिङ गर्न मिल्ने आर्यघाट निर्माणको काम अन्तिम चरणमा पुगेको हो । आर्यघाटमा ७ वटा शव दाहसंस्कार स्थल, ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले बताए । उनले ७ वटा शव दाहसंस्कार स्थलमा ट्रस्टको काम मात्रै बाँकी रहेको बताए ।
आर्यघाटमा अटोमेटिक फल्सिङ गर्न मिल्ने गरी डिजाइन गरिएको छ । नेपाल सरकारको प्रयर्टन मन्त्रालय मार्फत निर्माण हुन लागेको आर्यघाट निर्माणका लागि जगदम्बा भवानी जेभी सँग २ करोड १० लाखमा ठेक्का सम्झौता गरिएको थियो । आर्यघाट निर्माणका लागि २०८१ वैशाख ३ गते सम्झौता गरिएकोमा २०८२ असार १५ गते म्याद सकिए पनि सोही म्यादमा रहेर बाँकी काम भइरहेको इन्जिनियर कुँवरले बताए ।

आर्यघाटका लागि आवश्यक पानीको लागि सोही योजना अन्तरगत ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । उक्त ट्याङ्कीबाट सिधै पाइप जोडेर शव जलाउने ठाउँमा अटोमेटिक सफा गर्न मिल्छ डिजाइन गरिएको छ । शव जलाएपछि निस्किएको फोहोरहरू पाइपबाट फल्स गरेर सिधै खोलामा बगाउन मिल्ने छ ।

गोदावरीमा आर्यघाटमा गोदावरी नगरपालिका सहित ६ वटा पालिकाबाट शव दाहसंस्कार गर्नको लागि ल्याइने गरिन्छ । तर, सुख्खा मौसममा गोदावरी नदीमा पानी नहुँदा आर्यघाटमा दाहसंस्कार गर्न निकै समस्या हुने गरेको छ । पाइपबाट पानी लगाएर शव दाहसंस्कार गर्ने गरिएकोमा पानीको पनि भरपर्दो श्रोत नहुँदा समस्या हुँदै आएको थियो ।
आधुनिक आर्यघाट निर्माण भए पनि भने सुख्खा मौसममा दाहसंस्कारका लागि सहज हुने अत्तरियाका दिनेश बिसीले बताए । उनले अहिले नदीमा पानी भएर सहजै नदी किनारामा दाहसंस्कार गर्न सकिने भए पनि सुख्खा मौसममा आधुनिक शव दाहसंस्कार निकै लाभदायक हुने बताए । ‘यहाँ सुख्खा मौसममा पानी नहुँदा निकै समस्या हुने गरेको छ’ उनले भने ‘आर्यघाटमा पानी नै नहुँदा आफ्नो परम्पराअनुसार दाहसंस्कार पनि गर्न नसकिने अवस्था रहेकोमा आधुनिक आर्यघाट निर्माण भएमा सहज हुने छ ।’
आधुनिक आर्यघाट स्थलमा यसअघि नै कालोपत्रे सडक, प्रतिक्षालय, क्रिया घर निर्माण गरिसकिएका छन् । आर्यघाट सञ्चालनका लागि नगर परिषद्बाट कार्यविधि बनाएर सञ्चालन गरिने जनाइएको छ ।



















