खाेज्नुहाेस

भारत र पाकिस्तान एसिया कपको सुपर– ४ मा

Image

अत्तरिया– युएईमा जारी एसिया कप टी– २० क्रिकेट प्रतियोगितामा समूह (ए) बाट भारत र पाकिस्तानले सुपर – ४ मा स्थान पक्का गरेका छन् । बुधबार भएको खेलमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेसगै समुह (ए) बाट सुपर – ४ मा पुग्ने २ टोलीको टुंगो लागेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले मध्यम लक्ष्य दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । जसमा पाकिस्तानका अनुभवी खेलाडी फकर जमानले अर्धसतक बनाएका थिए । ३६ बल खेलेका जमान ५० रन बनाएर आउट भएका थिए । त्इसबाहेक सहिन अफ्रिदीले अविजित २९, कप्तान सलमान आगाले २० र विकेट किपर मोहम्मद हेरिसले १८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा युएईका खेलाडी जुनैद सिद्दीकीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चिएका थिए । त्यसबाहेक सिमरजित सिँहले ३ र ध्रुव परासरले १ विकेट लिए ।

attariya hospital

१४७ रनको मध्यम लक्ष्य पछ्याएको युएईले १७.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । युएईका तर्फबाट विकेट किपर राहुल चोपराले ३५ र ध्रुव परासरले २० रन बनाएपनि त्यो पर्याप्त भएन । बलिङमा पाकिस्तानका सहिन अफ्रिदी, हेरिस रउफ र अबरार अहमदले समान २/२ विकेट लिए भने सयम अयुब र कप्तान सलमान आगाले समान १/१ विकेट लिए ।

बहिष्कारको निर्णयबाट यसरी पछि हट्यो पाकिस्तान

navjiwan hospital

यसअघि भारतसँगको खेलमा भएको विवादका बिच पाकिस्तानले एसिया कप खेलेको छ । भारत सँग भएको खेलमा जिम्बाव्वेका म्याच रेफ्री एन्डी पाइक्रफ्टले पाकिस्तानी कप्तान सलमान आली आगालाई भारतीय कप्तान सूर्यकुमार यादवसँग हात नमिलाउन भनेपछि विवाद भएको थियो । उनलाई कारबाही नगरेसम्म पाकिस्तानले यूएईविरुद्ध नखेल्ने अडान लिएको थियो । तर, विवादित रेफ्री पाइक्रफ्ट ५ बजे रंगशालामा देखिएका थिए । पीसीबीले उनलाई हटाउन चाहन्थ्यो, तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) तयार थिएन ।

त्यसैबीच पाकिस्तानी टिम म्यानेजर नाभेद अक्रम, कप्तान सलमान आगा र प्रशिक्षक माइक हेसनले पाइक्रफ्टसँग बन्द कोठामा बैठक गरेको बताईन्छ । केही समयपछि पीसीबीले पाकिस्तानी मिडियालाई टिम व्यवस्थापनले पाइक्रफ्टसँग कुरा गरिरहेको भिडियो क्लिप पठायो । टसको समय (७ बजे) को केही मिनेटअघि पीसीबीले प्रेस विज्ञप्ति जारी ग¥यो । विज्ञप्तिमा पाइक्रफ्टले आइतबार भारतविरुद्धको खेलमा भएको ‘गलत सञ्चार’ का लागि माफी मागेको दाबी गरियो । त्यही माफीका कारण पाकिस्तानले खेल बहिष्कारको निर्णय फिर्ता लिएको बताइएको छ ।

पीसीबीले आइतबार दुबईमा भएको भारत–पाकिस्तान खेलमा टसको समयमा पाइक्रफ्टले दुवै कप्तानलाई हात नमिलाउन भनेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । तर, आईसीसीले स्पष्टीकरण दिँदै एसियाली क्रिकेट परिषद्का अधिकारीहरूले नै पाइक्रफ्टलाई यो निर्देशन दिएको र उनले सोहीअनुसार सलमान आगालाई जानकारी गराएको जनाएको थियो । आईसीसीको कानुन विभागको पत्रले म्याच रेफ्रीले भारतीय टोलीको पक्ष लिएको भन्ने पाकिस्तानको दाबीलाई खारेज गरेको थियो ।

यो घटनाले बुधबारको पाकिस्तान–यूएई खेलअघि प्रश्न उठाएको थियो । पाइक्रफ्ट नै उक्त खेलका रेफ्री थिए, र पीसीबीले उनलाई नहटाएसम्म खेल नखेल्ने अडान लिएको थियो । आइतबार राति भएको एसिया कप टी–२० को बहुप्रतिक्षित भारत–पाकिस्तान खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तर, पाकिस्तानी खेलाडीले हात मिलाउन तयार हुँदा भारतीय टोलीले हात नमिलाएपछि दुई छिमेकी देशबीचको तनाव मैदानमा पनि देखिएको थियो । भारतीय टी–२० कप्तान सूर्यकुमार यादवले आफ्नो क्रिकेट बोर्ड (बीसीसीआई) र भारत सरकारसँगको सल्लाहमा खेलअघि नै पाकिस्तानसँग हात नमिलाउने निर्णय गरेको बताएका थिए ।

भारतीय टोलीको यो कदमले पाकिस्तानी टोली निराश देखिएको थियो । पाकिस्तानका प्रशिक्षक माइक हेसनले खेलपछि हात मिलाउन तयार रहे पनि भारतीय खेलाडीले बेवास्ता गरेको बताएका थिए । यसै कारण पाकिस्तानी कप्तान सलमान आगाले खेलपछिको टेलिभिजन अन्तर्वार्ता दिन अस्वीकार गरेर भारतको कदमको विरोध गरेका थिए । पाकिस्तानले यी घटनाहरूबारे म्याच रेफ्री पाइक्रफ्टसमक्ष असन्तुष्टि व्यक्त गरेको थियो । खेल सकिएको केही घण्टापछि पीसीबीले विज्ञप्ति जारी गर्दै टिम म्यानेजरले पाइक्रफ्टविरुद्ध ‘औपचारिक विरोध’ दर्ता गरेको जनाएको थियो ।
पीसीबीका अनुसार, पाइक्रफ्टले टसका बेला दुवै कप्तानलाई हात नमिलाउन अनुरोध गरेका थिए । भारतको पहलगाममा भएको आतङ्कवादी हमलापछि यो भारत र पाकिस्तानबीचको पहिलो क्रिकेट खेल थियो ।