कञ्चनपुर – भदौ २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनमा मारिएका महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तमसिंह थापाको परिवारमा बज्रपात परेको छ । आन्दोलनकारीले प्रहरीको बिट जलाएर जवान थापालाई डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी गरेर हत्या गरेका थिए ।
राष्ट्रसेवामा रहेका छोरा गुमेसँगै उनकी वृद्धा आमा निर्मलादेवी थापाले सहारा नै गुमाएकी छिन् । दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोलीकी निर्मलाले ११ वर्षअघि श्रीमान् हरिसिंह थापा गुमाएकी थिइन । श्रीमान् बितेपछि दुई छोराको सहारामा बाँचेकी निर्मलाकोे गत वर्ष मंसिर २१ गते कान्छा छोरा महेश थापा गुमाइन भने एक वर्ष नपुग्दै जेठो छोरो उत्तम पनि गुमाएकी छिन् ।


कान्छो छोरो गुमाएको नौ महिनामै जेठो छोरा उत्तमको आसमा बाँचेकी निर्मलाको सहारा जेन–जी आन्दोलनले लुटेको छ । महेशको महाकाली नदीमा धार्मिक काम सकेर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । कान्छो छोरा गुमे पनि राष्ट्रसेवामा रहेका जेठो छोराको सहारामा बाँचेकी निर्मला यतिवेला घरका तीन सदस्य गुमेपछि विक्षिप्त अवस्थामा पुगेकी छिन् । निर्मला अहिले दार्चुलाकै घरमा छिन् ।
उत्तमलाई डिएसपी भन्दै अमानवीय रूपमा कुटीकुटी प्राण लिएका फोटो, भिडियो सार्वजनिक भएको बताउँदै यस्तो निकृष्ट अमानवीय काममा संलग्नमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन अपिल गरिएको छ ।
मृतक थापाका काका तेजसिंह थापाले उत्तमले ६ वर्षअघि मात्रै जोगबुढाकी पुष्पा भट्टराईसँग प्रेमविवाह गरेको बताए । ‘यतिवेला हामी घरपरिवार विक्षिप्त भएका छौँ, अझ ठुलो पीडा भाउजु निर्मलामा परेको छ,’ उनले भने, ‘हाम्रो परिवारमा परेको यो अपूरणीय क्षतिको कुनै सीमा नै छैन ।’ राष्ट्रसेवामा खटिएकै क्रममा अमानवीय रूपमा क्र्रूर हत्या भएको बताउँदै उनले अब उत्तमकोे सहारामा बाँचेकी उनकी धर्मपत्नी पुष्पालाई राष्ट्रसेवा गर्न सरकारले मौका दिनुपर्ने बताए ।
उत्तमको आइतबार पशुपतिमै अन्त्येष्टि गरिएको छ । घरपरिवारको दार्चुलास्थित महाकाली नदीमा अन्त्येष्टि गर्ने चाहना भए पनि परिस्थितिले उतै अन्त्येष्टि गरिएको हो । उत्तमकी आमा निर्मला, उनकी पत्नी पुष्पासहित थापा परिवारले मुखै हेर्न नपाई उनको अन्त्येष्टि गरियो ।


















