खाेज्नुहाेस

चोरीका सामान नकिन्न कैलाली प्रहरीको अपिल, फिर्ता गर्नेलाई सम्मान 

Image

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा चोरी गरिएका सामान नकिन्न व्यापारीहरूलाई अपिल गरेको छ ।

प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनको क्रममा कैलाली जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरे पश्चात् उक्त कार्यालयहरूमा रहेका कम्प्युटर, प्रिन्टर, ल्यापटप, दराज, कुर्सी, टेबल, पङ्खा, एसी, ब्याट्री लगायतका जिन्सी, बहुमूल्य वस्तु तथा सराकारी माल समानहरू चोरी तथा लुटपाट गरी बजारमा लगी खरिद बिक्री नगर्न अपिल गरेको हो ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट सूक्ष्म रूपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता सरसामान कुनै पनि व्यापारीलाई खरिद तथा बिक्री नगर्न नगराउन तथा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।

प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राज कुमार सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा चोरी लुटपाट तथा आवेशमा आई आफैसँग साथमा लगेका त्यस्ता सराकारी सर समानहरू सम्बन्धित कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली तथा नजिकको प्रहरी कार्यालयमा बुझाउनेलाई उचित सम्मान गरिने उल्लेख छ । विज्ञप्तिमा यस्ता सामान नबुझाई कसैले आफैसँग राखेको तथा खरिद बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।