काठमाडौँ । दैनिक १० हजार पाइला हिँड्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । यसले तौल घटाउँछ, मुटु स्वस्थ राख्छ, तनाव कम गर्छ र ऊर्जा बढाउँछ । तर हिँड्दा तपाईँबाट हुने केही स–साना गल्तीहरूले तपाईँका सारा कडा परिश्रम खेर जान सक्छ । के यो कुरा तपाईँलाई थाहा छ ?
हिँडेको समयमा पाइला गन्नु मात्रै पर्याप्त हुन्न । सही तरिकाले हिँड्नु जरुरी छ । हिँडिरहँदा धेरैजसो मानिसहरू गल्तीहरू गर्छन् र यसमा धेरै ध्यान दिँदैनन् । आजको यस लेखमा हामी हिँड्दा हुने चार ठुला गल्तीबारे कुराकानी गर्नेछौँ । यी गल्तीका कारण तपाईँले हिँडेका सारा पाइला बेर्थ हुन्छन् ।

शरीरमा पानीको कमी
धेरै मानिसहरूलाई सोच्छन् कि जिममा कसरत गर्दा मात्र पानी पिउनु आवश्यक छ । तर यस्तो होइन। लामो पैदल यात्रा गर्दा पनि शरीरबाट पसिनाको माध्यमबाट पानी र इलेक्ट्रोलाइट्स निस्कन्छ । यस्तो अवस्थामा सही मात्रामा पानी पिउनुभएन भने तपाईंलाई डिहाइड्रेट हुन सक्छ ।
यसले थकान, चक्कर लाग्ने, मांसपेशी दुख्ने र ऊर्जाको स्तर घट्ने जस्ता समस्या निम्त्याउन सक्छ । परिणामस्वरूप शरीरले क्यालोरीहरू राम्ररी बर्न गर्न सक्दैन र तपाईँले पैदल यात्राको पूर्ण लाभ पाउन सक्नुहुन्न । त्यसैले वाकमा जानुभन्दा लगभग ३० मिनेट अगाडि एक वा दुई गिलास पानी पिउनुहोस् । यदि तपाईँ ४५ मिनेटभन्दा बढी हिँड्दै हुनु हुन्छ भने पानीको बोतल आफूसँगै बोक्न नबिर्सनुहोस् । नियमित अन्तरालमा स–सानो घुट्कीमा पानी पिइरहनुहोस् ।
गलत जुत्ता लगाउनु

चप्पल, स्यान्डल वा फेसनेबल तर असहज जुत्ता लगाएर हिँड्नु वाकको समयमा गरिने सबैभन्दा ठुलो गल्ती हो । यस्ता जुत्ताले तपाईँको खुट्टालाई उचित टेवा दिँदैनन् । जसका कारण खुट्टा दुख्ने, छाला निस्कने, कुर्कुच्चामा चोट लाग्ने र घुँडा र ढाड दुख्ने समस्या निम्त्याउन सक्छ । गलत जुत्ता लगाएर हिँड्दा शरीरको मुद्रा पनि बिग्रिन्छ जसले गर्दा हिँडेर प्राप्त हुने फाइदा बेअसर हुन्छ वा कम फाइदा मिल्छ ।
त्यसैले वाकका लागि घरबाहिर निस्कँदा सधैँ राम्रो गुणस्तरको स्पोट्स् जुत्ता वा हिँड्ने जुत्ता लगाउनुहोस् । जुत्ता आरामदायी हुनुपर्छ, औंलाहरूको लागि पर्याप्त ठाउँ हुनुपर्छ र कुर्कुच्चालाई राम्रोसँग टेवा दिने खालको हुनुपर्छ ।
वार्म अप र कूल डाउन नगर्नु
सिधैं छिटो छिटो गतिमा हिँड्न सुरु गर्नु र त्यसपछि अचानक रोकिनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । वार्म अप नगरी हिँड्दा मांसपेशीमा तनाव र चोटपटक लाग्ने जोखिम बढ्छ । त्यस्तै गरी, अचानक रोकिँदा मुटुको धड्कन र रक्तचापमा अचानक गिरावट आउन सक्छ, जसले गर्दा चक्कर आउन सक्छ ।
त्यसैले, हिँड्न सुरु गर्नुअघि, हल्का स्ट्रेचिङ गरेर र ५ मिनेट बिस्तारै हिँडेर आफूलाई न्यानो पार्नुहोस् । हिँडाइ सकिएपछि पनि ५ मिनेट बिस्तारै हिँड्नुहोस् र त्यसपछि हल्का स्ट्रेचिङ गर्नुहोस् ताकि शरीरलाई शीतल हुन समय मिलोस् ।
लामो लामो पाइला चाल्ने
धेरैजसो मानिसहरू सोच्छन कि लामो लामो पाइला चाल्दा छिटो हिँड्न सकिन्छ र हिँड्नुको फाइदा छिटो मिल्छ । तर यो गलत सोचाइ हो । धेरै लामो पाइला चाल्दा तपाईँको शरीरको सन्तुलन बिग्रन्छ । यसले खुट्टाको मांसपेशी विशेष गरी पिडौंला र जोर्नीहरूमा अतिरिक्त दबाब दिन्छ, जसले गर्दा दुखाइ हुने र चोटपटक लाग्न सक्छ ।
त्यसैले वाकको समयमा सामान्य र आरामदायी पाइला चालेर हिँड्ने प्रयास गर्नुहोस् । पाइलाहरूको लम्बाइ प्राकृतिक हुनुपर्छ । छिटो हिँड्दा पाइलाहरू स्वतः अलि लामो हुन्छन्, तर जबरजस्ती धेरै लामो पाइला चाल्नु आवश्यक छैन ।

















