खाेज्नुहाेस

सुदूरपश्चिममा बाढीले दर्जनौँ विस्थापित, पहिरोले यातायात सेवा प्रभावित

Image

अत्तरिया – लगातारको वर्षा सँगै आएको बाढी पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा ठुलो क्षति पु-याएको छ । बाढीले कञ्चनपुरमा दर्जनौँ परिवार विस्थापित भएका छन् भने पहाडी जिल्लामा ठाउँ ठाउँमा सडकमा पहिरो जाँदा यातायात सेवा प्रभावित हुनुका साथै घर समेत भत्काएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अविरल वर्षापछि आएको बाढीले पटराखल्ला, रामपुरे टापु र जर्का टोलका बासिन्दा डुबानमा परेका छन् ।

attariya hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिकामा ५२ परिवार र २ बीओपी तथा भीमदत्त नगरपालिकामा ५ परिवार विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार जोगबुडा नदीमा आएको बाढी बस्तीमा पस्दा दोधारा चाँदनी नगरपालिका ८ रामपुरे टापु र जर्गा टोलमा २५ परिवार विस्थापित भएका छन् ।

उनीहरूलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ । सोही नगरपालिकाको वडा नम्बर ३ को पटेरा खल्लामा पनि जोगबुडाको बाढी पस्दा १५ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको छ ।

दोधारा चाँदनी नगरपालिका १० को शान्ति टोलमा पनि बाढी पसेपछि १२ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको अम्बिका आधारभूत विद्यालयमा राखिएको छ ।

navjiwan hospital

जोगबुडा नदीको बाढीका कारण दोधारा चाँदनीकै वडा नं. १० सुन्दरनगरमा र वडा नं. ७ मा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) पनि विस्थापित भएका छन् । विस्थापित सुरक्षाकर्मीका सामान नजिकैको विद्यालय र खोप केन्द्रमा राखिएको छ ।

प्रहरीका अनुसार महाकाली नदीमा सोमबार साँझ ५ बजेको मापन अनुसार पानीको बहाव २ लाख ३८ हजार क्युसेक पुगेको छ । यो बहाव यस वर्षको हालसम्मकै उच्च हो । महाकालीमा आइतबार साँझदेखि नै नदीमा पानीको बहाव बढेको हो । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

यसैबिच बैतडीको सतबाझमा आएको पहिरोले एक घर पुरिएको छ । अविरल वर्षापछि सडक खन्ने क्रममा कमजोर बनेको जमिन भासिएर घरमाथिबाट ठुलो पहिरो खस्दा सुर्नया गाउँपालिका वडा नम्बर २ का स्थानीय ग्रीसचन्दको पहिरोले घर पुरिएको बताइएको हो । घर माथिबाट आएको पहिरोले स्थानीय चन्द परिवारको घर पूर्ण रूपमा नष्ट भएको छ । पहिरोका कारण एक जना घाइते भएका छन् । घाइते हुनेमा सुर्नया गाउँपालिका वडा नम्बर २ का स्थानीय गोदावरी चन्द रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

राजमार्गमा राति यात्रा गर्न रोक

अविरल वर्षासँगै निरन्तर पहिरो आउन थालेपछि डडेल्धुरा र बैतडीमा राती यात्रा गर्न रोक लगाइएको छ । लगातार पहिरो खसिरहेको डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्गमा रातिको समयमा सवारी सञ्चालन रोक लगाइएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलानजिक लगातार पहिरो खसिरहेकाले अर्को सूचना नआएसम्म बेलुकी ७ बजेदेखि बिहान ५ः३० बजेसम्मका लागि यात्रा रोकिएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले सर्वसाधारण यात्रु, चालक तथा सरोकारवाला निकायलाई उच्च सतर्क रहन आग्रह गरेको छ ।

पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी बैतडीका मुख्य राजमार्ग तथा सहायक सडकमा सोमबार राति देखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

गृह मन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको उनले बताए । उनले भने, ‘अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ। त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।’