अत्तरिया – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटा अस्पताललाई ३ सय बेडको बनाउन गर्नु पर्ने तयारी केही पनि वाकी नराखेको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले ३ सय बेडको अस्पताल बनाउन सबै तयारी गरेर अर्थ मन्त्रालयमा पठाएको बताए ।

‘यसलाई तीन सय बेडको बनाउने उपाय मैले नै खोजेर काम अगाडि बढाएको छु’ उनले भने ‘छात्रवृत्तिका बढी डाक्टर यहाँ पठाउन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालय सँग बजेट मागेको छ । हामीले ३ सय बेडको अस्पताल बनाउन साढे २ सय दरबन्दी स्वीकृत गर्न फाइल नै अर्थ मन्त्रालयमा पठाएका छौ । मेडिकल कलेज बनाउन चाहिने पूर्वाधार, लगानी लेखेर अर्थ मन्त्रालयमा पठाएका छौ । हामीले गर्नुपर्ने तयारी केही पनि बाँकी राखेका छैनौ ।’
विश्वविद्यालय बनिसकेकाले तपाइहरूले केही गर्नु पर्दैन भन्ने कुरा पनि आएको बताउँदै उनले शिक्षा मन्त्रालयले चलाउन खोजे आजै हस्तान्तरण गर्न तयार भएको बताए । उनले बुझ्दै नबुझ्ने मान्छेले जे पनि भनेर भ्रम फैलाएको बताए । उनले स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने काम आफूले गरिरहेको दाबी गरे ।

उनले आफूले गेटाका लागि गरेका कामका लागि फुल माला लगाउनु पर्नेमा विरोध गरिनु दुःखद भएको बताए । उनले आफूआएपछि सुरु भएको इमर्जेन्सी सेवाको उद्घाटन गर्दा विरोध गर्नु उचित नभएको बताए ।
गेटामा हाल गेटामा पर्याप्त उपकरण पनि उपलब्ध गराएको बताउँदै हाल ६० प्रतिशत उपकरण प्रयोगमै आउन नसकेको बताए । उनले भएकै सामान प्रयोग नभएको अवस्थामा सामान ल्याएन भनेर आरोप लगाउनु गलत भएको बताए । उनले जसरी पनि आफ्नो कार्यकालमा गेटामा ३ सय बेडको अस्पताल बनाएर छोड्ने दाबी गरे ।


















