अत्तरिया – स्वास्थ्य मन्त्री प्रदीप पौडेल बुधवार दिउँसो गर्ने भनिएको गेटा अस्पतालको अवलोकन तथा इमर्जेन्सी सेवाको उद्घाटन कार्यक्रम हुन सकेन । दिउँसो १ बजे मन्त्री पौडेलले इमर्जेन्सी सेवाको उद्घाटन गर्ने र अस्पतालको अवलोकन गर्ने कार्यक्रम राखिएको भए पनि मन्त्री पौडेल साँझ मात्रै काठमाण्डौंबाट धनगढी आएका थिए । अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले स्वास्थ्य मन्त्री पौडेल नआएपछि उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको बताए ।

मन्त्री पौडेलले अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रमको गेटा अस्पताल परिसरमा दिनभरी विरोध गरिएको थियो । स्थानीयले बिहानै देखि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा उभिएर विरोध जनाए ।

स्थानीयले मन्त्री भएपछि पहिलो पटक अस्पतालको अवलोकन गर्न आएका बेला गरेका प्रतिबद्धता अनुसार काम नगरेर उल्टै अहिले ३ महिना अघि नै सञ्चालन भएको इमर्जेन्सी सेवाको उद्घाटन गर्न लागिएको भन्दै विरोध गरेका थिए । यद्यपि अस्पतालको अवलोकन गर्न भने कुनै अवरोध गर्ने कार्यक्रम नरहेको विरोध कार्यक्रममा सहभागी विनोद विष्टले बताए । उनले अझै पनि उद्घाटन बिना अस्पतालको अवलोकन गर्न मन्त्री समक्ष आग्रह गरिरहेको बताए ।
मन्त्री पौडेल बुधबार साँझ धनगढी आएर मंगलबार बिहान ८ बजे धनगढीबाट डडेल्धुरा जाने कार्यक्रम रहेको छ । डडेल्धुरामा उनले डडेल्धुरा अस्पतालको निरीक्षण गर्ने र, त्यसपछि डोटीका विभिन्न कार्यक्रममा सहभागी भएर शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । गेटा अस्पतालका सूचना अधिकार कार्कीले बुधबार रोकिएको उद्घाटन कार्यक्रम हुने नहुने बारे कुनै जानकारी नभएको बताए ।


















