बाल्यकालमै खेलेर हाँस्ने रहर टाढा भयो,
सपनाभन्दा अघि दायित्वको बाटो अगाडि आयो।

आफ्नै उमेरका साथीहरू रमाइरहेका देख्दा पनि,
घर सम्झी पसिना बगाउने बाध्यता सँगै आयो।
कापी–कलम भन्दा भाडा–भान्सामा मन बस्छ,
मोजमस्ती भन्दा मिहिनेतमा उसको जीवन टस्छ।
आफ्नो रहर काटेर परिवारलाई हँसाउँछ,
घरलाई अँध्यारोबाट उज्यालो तिर लैजान्छ।

बालक जस्तो हाँसो उसले धेरै बेर देख्दैन,
तारादेखि सपना के हो ? बिर्सन बाध्य हुन्छ।
तर उसको दृढता र पसिनाको मूल्य
एक दिन उसको भविष्य उज्यालो गराउने हुन्छ।
त्यो केटा साधारण भए पनि, साहसमा असाधारण छ,
दायित्वको बोझमा पनि उसले सधैँ आत्मबल राख्छ।
उसको कथा देख्दा मन आफैँ भावुक हुन्छ,
किनकि ऊ नै हो–घरको जिम्मेवारी बोकेको केटा।
कवि टिकेन्द्र धामी मालिकार्जुन माध्यमिक विद्यालय धाप दार्चुलाका विद्यार्थी हुन्।



















