अत्तरिया – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विश्वविद्यालय विधेयक सर्वसम्मत पारित भई राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएको विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा गइसकेको अवस्थामा हालसम्म पनि विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि नबढेकाले सो काम तत्काल गर्न माग गरिएको छ ।


यही आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा (एमबिबिएस) का लागि सिट सङ्ख्या निर्धारणको प्रक्रिया र प्रयोगात्मक अभ्यासका लागि ६०० शय्याको अस्पताल निर्माणका लागि बनेको उक्त संरचनामा कम्तीमा यसै आर्थिक वर्षमा ३०० शय्याको अस्पतालको सङ्गठनात्मक व्यवस्थापन तथा सर्वेक्षण अगाडि बढाउन विशेष पहल गरी दिन ज्ञापन पत्र मार्फत मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।
‘विश्वविद्यालय ऐन राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा गइसकेको अवस्थामा हालसम्म पनि विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेकोमा स्वयम् मुख्य मन्त्री ज्यू पनि उक्त ऐन बमोजिम रहने २५ जना सभा सदस्य मध्ये कुलपति सम्माननीय प्रधानमन्त्री, सह–कुलपति शिक्षा, स्वास्थ्य रहेको शिक्षामन्त्रीको अध्यक्षतामा रहने १० जना विश्वविद्यालय सभाको पदेन सदस्य रहको हुँदा माननीय मुख्यमन्त्री ज्यूको विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले यस प्रक्रियामा जटिलता देखिएको भए पनि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । विश्वविद्यालयको नियमावलीमा मुख्यमन्त्री पनि विश्वविद्यालय सभाको पदेन सदस्य रहने व्यवस्था राखिएको छ ।



















