खाेज्नुहाेस

कर्तव्यबोध : व्यक्तिगत, सामाजिक र राष्ट्रिय प्रगतिको आधार

Image

खेम राज ओझा

मानव जीवन केवल जन्म, मृत्यु र भोगाइमा सीमित छैन । यस जीवनको वास्तविक मूल्य तब मात्रै प्राप्त हुन्छ जब मानिसले आफ्नो कर्तव्यलाई चिनेर पालन गर्छ । प्रत्येक व्यक्तिले जन्मसँगै परिवार, समाज, राष्ट्र र सम्पूर्ण मानवताप्रति केही न केही जिम्मेवारी ग्रहण गर्छ । जीवनको साँचो अर्थ भनेको केवल व्यक्तिगत स्वार्थ, आराम र इच्छाहरू पूरा गर्नमा मात्र सीमित छैन । जीवनको अर्थ तब पूर्ण हुन्छ जब व्यक्ति आफ्नो कर्तव्यमा अडिग रहन्छ र जिम्मेवारी पूरा गर्छ । तर आजको समाजमा हामी देख्छौँ कि धेरै मानिसहरूले कठिन परिस्थितिको सामना गर्न नसकी आफ्नो कर्तव्यबाट पलायन गर्ने प्रवृत्ति देखाउँछन् । यो केवल व्यक्तिगत कमजोरी मात्र होइन, नैतिक र धार्मिक दृष्टिले अधर्म हो ।

attariya hospital

महाभारतको प्रसंग यस विषयलाई अत्यन्त स्पष्ट बताउँछ । अर्जुनले युद्ध गर्न तयार नहुँदा, आफ्ना गुरु, भाइ र आफन्तसँग अस्त्र उठाउनुपर्ने परिस्थिति आउँदा उनी मानसिक द्वन्द्वमा थिए । उनले सोचे, आफ्ना प्रियजनसँग युद्ध गर्नु पाप हो, त्यसैले म यो कर्तव्य पालन गर्न सक्दिन । त्यही बेला भगवान श्रीकृष्णले अर्जुनलाई गहिरो उपदेश दिए । उनले अर्जुनलाई सम्झाए कि जीवनमा कठिन परिस्थितिहरू आउँछन्, तर कर्तव्यबाट पलायन गर्नु अधर्म हो । युद्ध व्यक्तिगत लाभका लागि होइन, धर्म र न्यायको रक्षा गर्नका लागि हो । गीता अनुसार, कर्तव्य पालना गर्नु नै धर्म हो र त्यसबाट भाग्नु केवल कायरता हो । कृष्णले भनेझैं, फलको चिन्ता नगरी आफ्नो भूमिका निभाउनु प्रत्येक व्यक्तिको धर्म हो ।

जीवनमा मानिसले अनेक चुनौतीहरूको सामना गर्नुपर्छ । यस्ता चुनौतीहरू सजिलै पार गर्न सक्ने व्यक्तिहरू मात्र सम्मान, सफलता र आदर्श बन्न सक्छन् । यदि व्यक्ति आफ्नो कर्तव्य छोडेर पलायन गर्छ भने न केवल आफ्नै जीवनमा असफलता र अपराधबोध पैदा हुन्छ, तर परिवार, समाज र राष्ट्रलाई पनि नोक्सान पु-याउँछ । उदाहरणका लागि, शिक्षकले विद्यार्थीलाई शिक्षा दिन नपुग्दा भविष्यका पुस्ता अज्ञानमै रहनेछन् । अभिभावकले सन्तानको पालनपोषण र संस्कारमा ध्यान नदिए परिवार विखण्डित हुन्छ । सैनिकले आफ्नो जिम्मेवारीमा ढिलाइ गर्दा राष्ट्र असुरक्षित हुन्छ । नेताले जनताको हित भन्दा स्वार्थ रोजे राष्ट्र अस्थिरतामा पुग्छ । यसरी स्पष्ट देखिन्छ कि कर्तव्यबाट पलायन केवल व्यक्तिगत गल्ती होइन, त्यो सामाजिक संरचनामा पनि ठूलो असर पार्ने अधर्म हो ।

navjiwan hospital

नेपालको सन्दर्भमा यो शिक्षा अझ महत्वपूर्ण हुन्छ । नेपालमा बढ्दो भ्रष्टाचार, राजनीतिक गुटबन्दी र अस्थिरता केवल कर्तव्य पलायनको प्रत्यक्ष परिणाम हुन् । किसानले अन्न उत्पादन नगरे समाजमा भोकमरीको अवस्था पैदा हुन्छ । शिक्षकले शिक्षा नदिए पिँढी अज्ञानमा हुर्किन्छ । डाक्टरले बिरामीको उपचार नगरे जीवन संकटमा पर्छ । सैनिकले आफ्नो जिम्मेवारी पूरा नगरे राष्ट्र असुरक्षित हुन्छ । यही कारणले हाम्रो समाजमा कर्तव्यबोधको महत्व अत्याधिक छ । प्रत्येक व्यक्तिले आफ्नो भूमिका र जिम्मेवारी पूर्णरूपमा बुझेर पालन गर्नुपर्ने हुन्छ, किनकि समाजको स्थिरता र प्रगति यहीँमा निर्भर हुन्छ ।

जीवनमा मानिसले अनेक चुनौतीहरूको सामना गर्नुपर्छ । यस्ता चुनौतीहरू सजिलै पार गर्न सक्ने व्यक्तिहरू मात्र सम्मान, सफलता र आदर्श बन्न सक्छन् । यदि व्यक्ति आफ्नो कर्तव्य छोडेर पलायन गर्छ भने न केवल आफ्नै जीवनमा असफलता र अपराधबोध पैदा हुन्छ, तर परिवार, समाज र राष्ट्रलाई पनि नोक्सान पु-याउँछ ।

कर्तव्यबाट पलायन हुने व्यक्तिको जीवनमा दीर्घकालीन असर पर्छ । उसले आत्मग्लानि, अपराधबोध र असफलताको बोझ बोकेको अनुभव गर्छ । परिवारमा असन्तुलन र विखण्डन पैदा हुन्छ । समाजमा अन्याय, अव्यवस्था र असमानता बढ्छ । राष्ट्रको नेतृत्वले आफ्नो जिम्मेवारी नबुझे भने मुलुक अस्थिर र विकासहीन हुन्छ । त्यसैले जीवनमा कर्तव्य पालन नगर्ने प्रवृत्ति केवल व्यक्तिगत कमजोरी मात्र होइन, दीर्घकालीन विनाशको कारण पनि बन्न सक्छ ।

गीता दर्शनको सन्देश आज पनि प्रासंगिक छ । कृष्णले अर्जुनलाई भनेझैं, जीवनमा कर्तव्यबाट कहिल्यै नपल्टिनुहोस् । कठिनाइ, पीडा वा हानि भए पनि आफ्नो भूमिका निभाउनु नै जीवनको धर्म हो । यस सन्देशलाई हामी दैनिक जीवनमा पनि लागू गर्न सक्छौं । विद्यार्थीले आफ्नो पढाइमा ध्यान दिनु, श्रमिकले आफ्नो काममा मेहनत गर्नु, अभिभावकले सन्तानको पालनपोषण गर्नु र नागरिकले सामाजिक जिम्मेवारी पूरा गर्नु गीता दर्शनकै व्यावहारिक रूप हो ।

नेपालका नेताहरूले पनि यस सन्देशलाई आत्मसात् गर्न आवश्यक छ । वर्तमान राजनीतिक अस्थिरता, भ्रष्टाचार र गुटबन्दीले मुलुकको विकासमा बाधा पु¥याइरहेको छ । यदि नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र जनताको हितलाई पहिलो प्राथमिकता दिन्छन् भने मात्रै देशमा स्थिरता र समृद्धि सम्भव हुन्छ । नेताले निस्वार्थ भावनाले नेतृत्व गर्दै अन्याय र अधर्म विरुद्ध दृढ भएर उभिनुपर्छ । यही अवस्थामा मात्र कृष्णजन्माष्टमीको शिक्षा र गीता उपदेशको सार्थकता स्थापित हुन्छ ।

जीवनमा कर्तव्यबाट पलायन गर्नु सजिलो देखिए पनि दीर्घकालीन दृष्टिले विनाशकारी हुन्छ । भगवान कृष्णको उपदेश केवल युद्धमैदानका लागि होइन, सम्पूर्ण मानव जीवनका लागि मार्गदर्शन हो । जसरी अर्जुनले कृष्णको शिक्षा सुनेर धर्मको पक्षमा उभिए, त्यसरी नै हामी सबैले आफ्नो कर्तव्य पालना गर्दै जीवनलाई अर्थपूर्ण बनाउनुपर्छ । कर्तव्य पालनले मात्र जीवन सार्थक बनाउँछ, समाज सुदृढ बनाउँछ र राष्ट्र समृद्धि हासिल गर्न सक्छ ।