किन कि म छोरी हुँ,
म जन्मिएँ भनेर कतै उत्सव मनाइएन,


तर आमाको आँखा भने खुशीले रसाइरहेकी थिइन्,
मेरो पहिलो रुवाइमा उनको मुटु नाचिरहेको थियो,
तर समाजले त्यसलाई चुपचाप टुलुटुलु हेर्यो।

किन कि म छोरी हुँ,
मेरो हाँसो, मेरो चिच्याहट, मेरो उफ्रिनु,
भनेर सधैं भन्दछन् — “छोरी हो, शान्त बस।”
मलाई खेलौना दिए तापनि,
भन्दै थिए — “भोलिको बुहारी, सभ्य बन।”
किन कि म छोरी हुँ,
मेरो पढ्न पाउने अधिकारलाई पखाल्न खोजिन्छ,
घरको भाँडा माझेर, खाट मिलाएर,
पढ्न खोजे भने पनि भन्छन् — “छोरी मान्छेले कति पढ्नु?”
तर, किताबमा लेखिएको हर शब्द मेरा सपनाहरू हुन्।
किन कि म छोरी हुँ,
सानैमा सिकाइन्छ — लाज मान्नू, टाउको निहुराउनू,
तर मलाई मेरो आँखा उठाएर हेर्न मन लाग्छ,
मेरो आवाज बुलन्द पार्न मन लाग्छ,
किनकि म पनि विचार राख्न सक्छु, परिवर्तन गर्न सक्छु।
किन कि म छोरी हुँ,
म सधैं प्रेम गर्छु, तर कमजोरी होइन,
सहन गर्छु, तर निरीह छैन,
धैर्यको नाम म हो,
तर अब मौन रहने छैन।
किन कि म छोरी हुँ,
म आमाको काखमा निदाउने फुल हुँ,

तर बुबाको सपना पुरा गर्ने अठोट पनि,
म त समाजको आधा भाग हुँ,
तर कहिल्यै आधा अधिकार पाएकी छैन।
किन कि म छोरी हुँ,
शिक्षा मेरो अधिकार हो,
सपना देख्ने आँखा मेरै पनि छन्,
म पनि डॉक्टर, पाइलट, नेता, वैज्ञानिक बन्न सक्छु,
कविता लेख्न सक्ने, क्रान्ति गर्न सक्ने आत्मा हुँ म।
किन कि म छोरी हुँ,
म सृजनाकी मूर्तरूप हुँ,
म केवल घर सजाउने फूल होइन,
म आँगनमा रगत बगाएर क्रान्ति गर्ने वीर पनि हुँ।
किन कि म छोरी हुँ,
माइती र ससुराली दुबैको माया बोकेको दायित्व हुँ,
आफ्नो पहिचान हराउँदै अरूको चिनारीमा विलीन हुनुपर्ने,
तर अब त्यो नाम हराउने छैन —
म आफ्नो अस्तित्व लिएर बाँच्नेछु।
किन कि म छोरी हुँ,
अब मलाई दया होइन,
अधिकार चाहिन्छ,
सहानुभूति होइन,
समानता चाहिन्छ।
किन कि म छोरी हुँ,
म बाँच्न चाहन्छु खुला आकाशमा,
उड्न चाहन्छु सपनाको पंख फिजाएर,
म केवल ‘छोरी’ होइन,
म एक जीवनकी सारथी हुँ — म भविष्य हुँ।
कवि: निशा महर
विद्यार्थी, दार्चुला बहुमुखी क्याम्पस

















