खाेज्नुहाेस

विपद् व्यवस्थापन अन्तर्गत बाढी र बाढीबाट बच्न अपनाउनु पर्ने सावधानी

Image

 दशरथ ओझा – विपद् व्यवस्थापन भन्नाले विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ सँग सम्बन्धित सम्पूर्ण क्रियाकलाप सम्झनु पर्छ । वातावरणीय असन्तुलन, चलायमान भौगर्भिक अवस्था, मानवीय कारणहरू र जनचेतनाको कमीले विपद्  भएको देखिन्छ । नेपालमा हरेक वर्ष विशेष गरी बाढी, पहिरो, शीतलहर,हुरिबतास,आगलागी,महामारी, चट्याङ जस्ता विपद्हरू आइरहेका छन्। साथै समय-समय मा  भुईँचालो समेत जाने गरेको छ । यसबाट मानिसहरू भौतिक, मानवीय तथा आर्थिक हिसाबले धेरै जोखिममा पर्ने गरेका छन् । त्यसैले विपद् व्यवस्थापन जरुरी पर्दछ ।

विपद्  :

add everest academy
attariya hospital

विपद् भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैर प्राकृतिक सङ्कट सम्झनु पर्छ। विपद्ले विनाश गर्छ, विनाशले जीवनचक्र आतङ्कित बनाउँछ, आतङ्कले जनधनको क्षति र तनाव बढाउँछ। मानव जीवनमा अप्ठ्यारो, आपत्कालीन, भयभीत अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो। मानव सङ्कटले जीवन सञ्चालनमा अवरोध गर्ने हुँदा विपद् जोखिममा होसियारी अपनाउनुपर्छ। यस्तो सङ्कट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्विरुद्ध सधैँ होसियारीसहित शासकीय तयारी हुनुपर्छ। विपत्ति प्राकृतिक र मानवीय कारणबाट हुने गर्दछ।नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ। दुर्घटना र भूकम्पको प्रकोप जति बेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावा हुरी, आगलागी र चट्याङ र असिना को प्रकोप जोखिम हुने गर्दछ। वर्षाको समय प्रायः असारदेखि भदौसम्म खतरा वा जोखिम हुने समयका रूपमा लिइन्छ। हाम्रो भू बनोट र प्राकृतिक कारण हावा हुरी, आगलागी, चट्याङ, असिनाको प्रकोप र वर्षा हाम्रा लागि निकै चुनौती र कष्टकर हुने गरेको छ ।

विपद् व्यवस्थापनको लागि राज्यले लिएको नीति :

नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसद्ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बनाएको छ । सरकारले विपद् व्यवस्थापन गर्ने संयन्त्र प्राधिकरण स्थापना गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्ने कार्य जिम्मेवारी तोकिएको छ। जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को व्यवस्था रहेको र परिषद्ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीतिगत निर्णय गर्ने, समन्वय गर्ने, निर्देशन दिने काम गर्दछ। परिषदबाट स्वीकृत नीत तथा योजनाको कार्यान्वयन  गर्ने , गराउने काम समेतका लागि एक कार्यकारी समिति रहनेछ । गृह मन्त्रीको अध्यक्षतामा मन्त्रालयले विपद् व्यवस्थापन सम्बन्धी नीत, योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद् सम्बन्धी अध्ययन अनुसन्धान कार्यमा सल्लाह सुझाव उपलब्ध गराउन भूगर्भ विज्ञ, विशेषज्ञ चिकित्सक , विपद् व्यवस्थापन विज्ञ, वातावरण विज्ञ ,पूर्वाधार विज्ञ रहेको बढीमा पाँच सदस्यीय विशेषज्ञ समिति  गठन गर्न सक्नेछ ।

attariya technical collage

प्रदेश स्तरमा विपद् व्यवस्थापन  गर्न प्रत्येक प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति रहनेछ । परिषद् बाट स्वीकृत राष्ट्रिय नीति  तथा योजनाको अधीनमा रही प्रदेश स्तरमा विपद् व्यवस्थापन सम्बन्धी मध्यकालीन तथा अल्पकालीन नीति , योजना तथा कार्यक्रम तर्जुमा गरी गरी लागू गर्ने , गराउने,  विपद् पूर्व  तयारीको लागि सम्बन्धित निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिको कार्य सञ्चालनमा प्रभाकारिता ल्याउन आवश्यक सहजीकरण र समन्वय गर्ने , खोज , उद्धार तथा राहत वितरण कार्यमा प्रभावकारिता  ल्याउन सङ्घ, प्रदेश र स्थानीय तह लगायत अन्य सरोकार वाला सँग  समन्वय तथा  सहकार्य  गर्ने  , राहत सामग्रीको व्यवस्थापनका लागि  मापदण्ड बनाई लागू गर्ने , गराउने, आपत्कालीन अवस्थामा विपद् प्रभावितका लागि  अस्थायी आश्रय गृह  तथा अन्य अस्थायी संरचनाको निर्माण  गर्ने , गराउने, विपद् प्रभावित क्षत्रमा  पिउने पानी, खाद्यान्न , लत्ताकपडा तथा औषधी उपचार जस्ता अत्यावश्यक  बस्तुको प्रबन्ध गर्ने  ।

navjiwan hospital

जिल्लास्तरमा विपद् व्यवस्थापन सम्बन्धी कार्यको लागि प्रमुख जिल्ला अधिकारीको  अध्यक्षतामा विपद् व्यवस्थापन समिति रहनेछ र उक्त समिति ले तोकिए बमोजिमको  विपद्  व्यवस्थापन  सम्बन्धी कार्य गर्ने छ । उक्त विपद् व्यवस्थापन समितिले  परिषद् , कार्यकारी  समिति तथा प्रदेश समितिबाट स्वीकृत नीति , योजना तथा कार्यक्रम  कार्यान्वयन गर्न सहयोग गर्ने , गराउने। जिल्लाको विपद् प्रतिकार्य योजना तयार गरी लागू गर्ने , गराउने ।  आपत्कालीन कार्य सञ्चालन केन्द्रको  सञ्चालन गर्ने ।  उपलब्ध स्रोतको उच्चतम प्रयोग तथा  प्रबन्ध  गरी विपद् प्रभावित क्षेत्रमा खोजी  तथा उद्धार गर्ने । जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई आवश्यकता अनुसार राहत वितरण गर्न लगाउने । विपद् प्रभावित क्षेत्रमा  खानेपानी , खाद्यान्न , लत्ताकपडा तथा औषधी उपचार जस्ता अत्यावश्यक बस्तुको प्रबन्ध गर्ने जस्ता कार्यहरू गर्दछ ।

स्थानीयस्तरमा विपद् व्यवस्थापन का लागि  गाउँ कार्यपालिकाको अध्यक्ष वा नगर कार्यपालिकाको प्रमुखको अध्यक्षतामा प्रत्येक गाउँपालिका तथा नगरपालिकामा तोकिए बमोजिमको स्थानीय विपद् व्यवस्थापन समिति रहनेछ व्यवस्था छ । उक्त समितिले  परिषद् बाट स्वीकृत राष्ट्रिय नीति तथा योजना एवम्  कार्यकारी  समिति र प्रदेश विपद् व्यवस्थापन समितिबाट स्वीकृत  एकीकृत तथा क्षेत्रगत नीति  योजना र कार्यक्रम अनुरूप हुने गरी स्थानीय विपद् व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्ने र  स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि  बजेट विनियोजन गर्न लगाउने  कार्य गर्दछ ।

सुरक्षा निकायको भूमिका:

विपद् व्यवस्थापनको काममा आवश्यकता  अनुसार सुरक्षा निकायलाई परिचालन गर्नुपर्ने हुन सक्छ  ।  विपद्को समयमा खोज , उद्धार तथा राहतको कार्यको लागि नेपाल सरकारले नेपाली सेना  समेत परिचालन गर्न सक्नेछ ।  विपद् व्यवस्थापन सम्बन्धमा सुरक्षा निकायले कार्यकारी समिति , प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समितिको अध्यक्ष तथा जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्षको निर्देशन तथा सुपरिवेक्षण अन्तर्गत रही तोकिए बमोजिमको कार्य सम्पादन गर्नुपर्ने प्रावधान रहेको छ।

विपद् पूर्व तयारी :

विपद् को जोखिम कम गर्न विपद् पूर्व तयारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ विपद् पूर्व तयारी तथा आपतकालीन प्रतिकार्यलाई मजबुत बनाउन जरुरी छ ।प्रभावकारी विपद् पूर्व तयारीले विपद्को सामना गर्ने क्षमतालाई वृद्धि गर्छ र समुदायहरूलाई विपद् उत्थानशील बनाउन मद्दत पु¥याउँदछ । यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संलग्न सम्पूर्ण सरोकारवाला निकायहरूको जिम्मेवारी प्रस्ट किटान गरी उनीहरूको पूर्व तयारी तथा प्रतिकार्य क्षमताका साथै स्रोत साधनको उपलब्धता सुनिश्चित गर्नु पर्दछ ।

बाढी :

वर्षायाममा हाम्रो देशको जस्तो भू बनोटमा बाढीबाट डरलाग्दो जोखिम उत्पन्न  हुन सक्ने सम्भावना नकार्न सकिन्न ।  बाढी भनेको विभिन्न कारणबाट खोला, नदी वा खोल्सामा पानीको स्तर असामान्य रूपमा बढेर हुने विपद्जन्य घटना हो । अत्यधिक वर्षाका कारण, बाँध फुटेर वा पानीको नियमित बहाव रोकिएका कारणले खोला, खोल्सो, नदी वा भेलले अचानक नियमित बहाव क्षेत्र नाघेर अनियन्त्रित भई ठुलो क्षेत्रको जनजीवन, बस्ती वा खेतबारीमा प्रतिकूल प्रभाव पार्छ । अर्को हिसाबले भन्दा नदीनाला, खोला, ताल, खोल्सा आदि पानीका स्रोतहरूमा विभिन्न कारणले पानी बढेर वरिपरिको जमिनको भागमा पानी बग्ने, डुबाउने वा बगाउने अवस्थालाई बाढी भनिन्छ ।

बाढी आएका बेला गर्नुपर्ने काम तथा सावधानीहरू :

·      बाढी आउने पूर्व सूचना प्राप्त भएपछि नआत्तिकन अग्लो र सुरक्षित स्थानमा जाने ।

·      उद्धारको तालिम वा पौडिने सीप नलिएकाहरूले कहिले पनि उद्धार कार्यमा नजाने,     उद्धारकर्मीहरूलाई आवश्यक सरसहयोग गर्ने

·      बाढीमा फसेकाहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई तत्काल खबर गर्ने ।

·       प्रभावितहरूको खोज, उद्धार र राहत लगायतका कार्यमा आफ्नो ज्ञान र सीपको उपयोग गर्ने ।

·      यदि कसैलाई बाढीले बगाएको खण्डमा लाइफ ज्याकेट, डोरी वा उपलब्ध साधनको सहायताले उद्धार गर्ने । तर गहिराइ थाहा नभएको पानी वा बगिरहेको पानीमा हत्तपत्त नछिर्ने ।

·      बाढीमा घाइते भएकाहरुको प्राथमिक उपचार गर्ने र सघन अवस्थामा तत्काल अस्पताल पठाउने व्यवस्था गर्ने ।

·      सुरक्षित स्थानतर्फ जाने बाटोमा भिडभाड हुन नदिन स्वयंसेवकहरूको परिचालन गर्ने ।

·      वृद्ध वृद्धा, बालबालिकाहरूलाई विशेष सहयोग र प्राथमिकता दिने।

·      रेडियो वा स्थानीय एफएमले सूचना दिन सक्छ, रेडियो खोलेर समाचार सुन्ने ।

·      बाढी डुबानको अवस्था बारे सञ्चार माध्यमबाट तत्कालको अवस्थाबारे जानकारी लिने ।

·      घरमा विद्युतको लाइन बन्द गर्ने, पानीले भिजेको वा पानीमा उभिएर विद्युतीय उपकरणहरू नछुने वा नचलाउने ।

·      पानीले डुबाउने वा बगाउने जोखिम भएकाले महत्त्वपूर्ण कागजातहरूलाई पानी नछिर्ने प्लास्टिकमा हालेर सुरक्षित स्थानमा राख्ने ।

·      विपदबाट  हुनसक्ने सम्भावित मानवीय क्षति तथा धन सम्पत्ति र आधारभूत पूर्वाधारहरूमा हानी

नोक्सानी कम गर्नका साथै विपद्को समयमा प्रभावकारी रूपमा मानवीय सहायता परिचालन गर्ने ।

अन्त्यमा, विपद् जुनसुकै बेला आउन सक्छ हामीले विपद् आएपछि समाधान खोज्दा निकै ढिलो भैसकेको हुन्छ । तसर्थ विपद् बाट हुनसक्ने सम्भावित जोखिम कम गर्न का लागि आवश्यक पूर्व तयारी गर्नुपर्ने हुन्छ । प्राकृतिक मात्रै नभएर मानवीय कारण ले पनि विपद निम्तिने हुन्छ । त्यसैले विपद् बाट हुन सक्ने मानवीय तथा गैर­­-मानवीय क्षति कम गर्न हामी आफै संवेदनशील र सचेत हुनुपर्दछ ।

 दशरथ ओझ

गोदावरी ०४ , वसन्तपुर, कैलाली

लेखक श्री समैजी माध्यमिक विद्यालय गोदावरी ०८ मजगाउ कैलालीका शिक्षक हुनुहुन्छ ।