आजको बदलिदो सामाजिक संरचना, प्रविधिको अन्धाधुन्द प्रयोग र कमजोर मानसिक स्वास्थ्य सेवाका कारण एडिक्सनको समस्या भयावह बन्दै गएको छ । एडिक्सन अर्थात् लतहरू केवल देखिने व्यवहारिक विकृति होइनन; तिनीहरू विभिन्न प्रकारका गहिरा जरा र अस्वस्थ माटोबाट उम्रिएका हुन् । कुनै व्यक्तिको मादक पदार्थमा निर्भरता, अनलाइन गेमको लत वा सामाजिक सञ्जालको अत्यधिक प्रयोगजस्ता व्यवहारहरू बाल्यकालको दुव्र्यवहार, उपेक्षा, डर, आक्रोश, एक्लोपन वा आत्मग्लानि जस्ता कारणहरूबाट उत्पन्न हुन्छन् । यी लतहरू उपचारका नाममा केवल व्यवहार परिवर्तनमा केन्द्रित गरिएपनि, जरा तहको मनोवैज्ञानिक पीडामा ध्यान नदिएसम्म समस्या सतही रूपमा मात्र कम हुने हो, पूर्ण समाधान सम्भव हुँदैन ।
त्यसैले, एडिक्सनको समाधानको खोजी गर्दा हामीले केवल शाखा काटेर रोक्ने प्रयास गर्नुहुँदैन, बरु जरा र माटो परिवर्तन गर्नुपर्ने हुन्छ । व्यक्तिको भित्री पीडालाई चिन्न, सामाजिक समर्थन प्रदान गर्न र मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्न आवश्यक छ । नेपाल जस्तो सन्दर्भमा जहाँ मानसिक स्वास्थ्य अझै पनि उपेक्षित छ, त्यहाँ विद्यालयदेखि नै भावनात्मक शिक्षा, परामर्श सेवा र पारिवारिक सुदृढीकरण कार्यक्रमहरू लागू गर्नुपर्छ । एडिक्सन कुनै ‘पाप’ होइन, बरु एउटा ‘प्रतिक्रिया’ हो – जो व्यक्ति भोगिरहेको पीडा, असुरक्षा वा अभावको परिणाम स्वरूप विकसित भएको हुन्छ । त्यसैले, समृद्ध र सन्तुलित समाज निर्माण गर्न एडिक्सनको जरा र माटोसँगको गहिरो सम्बन्ध बुझेर समाधानतर्फ जानु अपरिहार्य हुन्छ ।

नेपालको सामाजिक परिवेशमा एडिक्सनको समस्या गहिरो रूपमा गाँसिएको छ, जसको मूल कारण पारिवारिक विघटन, बेरोजगारी, असमानता र आधुनिकता नामको भ्रमपूर्ण भौतिकवाद हो ।
एडिक्सनको जराको समालोचनात्मक विश्लेषण गर्दा बुझिन्छ कि यो समस्या केवल व्यक्तिगत कमजोरी नभई गहिरो सामाजिक र मनोवैज्ञानिक संरचनासँग गाँसिएको छ । जसरी कुनै रुखको हरियाली सतहमा देखिए पनि त्यसको जीवनशक्ति माटोभित्र गाडिएको जराबाट आउँछ, त्यसैगरी एडिक्सनको पनि जरा व्यक्ति विशेषको विगतको पीडा, दुव्र्यवहार, एक्लोपन, डर वा अपमानको अनुभवमा हुन्छ । ‘Shame’, ‘Neglect’, ‘Fear’ वा ‘Trauma’ जस्ता भावनात्मक घाउहरू नदेखिने भएपनि तिनले व्यक्तिको आत्म–सम्मानमा चोट पु-याएर एडिक्सनको बीउ रोप्छन् । यो जरा फेला नपारी गरिएको कुनैपनि उपचार केवल अस्थायी हुन्छ, किनकि जरा यथावत रहेसम्म लतको नयाँ रूप पुनः उम्लिन्छ ।
यस्तो एडिक्सनको वृद्धि र विस्तारको लागि अनुकूल वातावरण अर्थात् ‘माटो’ पनि उत्तिकै जिम्मेवार हुन्छ । हाम्रो सामाजिक संरचना, जहाँ गरिबी, बेरोजगारी, घरेलु हिंसा, भेदभाव र मानसिक स्वास्थ्यप्रतिको उपेक्षा विद्यमान छ, त्यसले लतको लागि उब्जाउ वातावरण सिर्जना गर्छ । बाल्यकालमै प्रेम, सुरक्षा र समझदारीको अभाव भएका बालबालिका इन्टरनेट, भिडियो गेम वा मोबाइलमा निर्भर हुन्छन् भने युवाहरू उद्देश्यविहीन जीवन, असुरक्षा र सम्बन्ध विहीनताबाट ग्रसित भई लागूपदार्थतर्फ आकर्षित हुन्छन् । त्यसैले एडिक्सनको समस्या बुझ्न हामीले व्यक्ति मात्र होइन, उसको सामाजिक, पारिवारिक र सांस्कृतिक परिवेशलाई समेत गहिरो रूपमा विश्लेषण गर्नुपर्छ ।
नेपालको सामाजिक परिवेशमा एडिक्सनको समस्या गहिरो रूपमा गाँसिएको छ, जसको मूल कारण पारिवारिक विघटन, बेरोजगारी, असमानता र आधुनिकता नामको भ्रमपूर्ण भौतिकवाद हो । सहरहरूमा देखिनेलागूपदार्थ, यौन लत, इन्टरनेट लत जस्ता प्रवृत्तिहरूलाई केवल ‘शहरी विकृति’ भनेर हेर्नु सतही दृष्टिकोण हो । गाउँघरमा पनि झारफुक, घरेलु हिंसा, मदिरा, जुवा जस्ता परम्परागत लतहरूले जीवन र सम्बन्ध तहसनहस पारिरहेकाछन् । प्रवासको असरले परिवार टुक्रिएपछि अभिभावकीय माया र मार्गदर्शनबाट बञ्चित भएका सन्तान आ–आफ्नै दुनियाँमा हराउँदै गएका छन् । शिक्षित युवा पुस्ता भने आधुनिक प्रविधिको अत्यधिक प्रयोगबाट उत्पन्न आत्म–केन्द्रित, संवेदनाहीन र आभासी जीवनशैलीमा फसेका छन् । यसले भावनात्मक असन्तुलन र आत्म–पहिचानको संकट निम्त्याउँछ, जुन एडिक्सनको जग बन्छ ।
वास्तवमा हामीले सतहमा देखिने लक्षण होइन, गहिरिएर सोच्नुपर्ने कारणहरूसँग जुझ्न जरुरी छ । नेपालमा प्रायः समस्या देखिनासाथ त्यसको सतही नियन्त्रणमा ध्यान दिइन्छ—जस्तै, बच्चालाई मोबाइल नदिनु, कसैलाई पुनस्र्थापना केन्द्रमा पठाउनु, वा कडाइ लागू गर्नु । तर, यदि तिनीहरूको भित्री पीडा, विगतको घाउ, वा सामाजिक असुरक्षालाई सम्बोधन गरिएन भने ती लत फेरि नयाँ रूप लिएर फर्किन्छन् । समाधान खोज्दा हामीले जरा अर्थात् आत्म–चेतनाको अभाव, सामाजिक सम्बन्धको कमजोर आधार र भावनात्मक समर्थनको न्यूनता सुधार गर्नुपर्छ । साथै, माटोको रूपमा रहेको समाज, राज्य र परिवारको भूमिकामा सकारात्मक परिवर्तन आवश्यक छ । तबमात्र एडिक्सनको दीर्घकालीन समाधान सम्भव हुन्छ ।

एडिक्सनको समाधानको खाका केवल औषधोपचार वा नियन्त्रणमै सीमित रहनु अब पर्याप्त छैन, किनभने यो समस्या गहिरो मानसिक, भावनात्मक र सामाजिक तहमा गाँसिएको हुन्छ । पहिलो खुड्किला मनोवैज्ञानिक सहायता हो, जसअन्तर्गत परामर्श, थेरापी, र दीर्घकालीन उपचार प्रक्रिया आवश्यक पर्छ । विशेषगरी बाल्यकालमा भएको दुव्र्यवहार, उपेक्षा, डर र आत्मग्लानिजस्ता मानसिक घाउहरूलाई पहिचान गरी समुचित उपचार नगरी कुनैपनि लतको समाधान दीगो हुन सक्दैन । दोस्रो, शिक्षा प्रणालीमा व्यापक सुधार गरी विद्यालय तहमै जीवन उपयोगी सीप, भावनात्मक बुद्धिमत्ता, डिजिटल डिटोक्स र आत्म–संवेदनशीलता जस्ता सिपहरूको विकास गर्नुपर्छ । यसले बालबालिकामा आत्मनियन्त्रण, आत्मचेतना र अस्वस्थ आकर्षणबाट बच्ने क्षमता प्रदान गर्छ ।
तेस्रो, सामाजिक समर्थन प्रणालीको सुदृढीकरणले एडिक्सनबाट जुधिरहेका व्यक्तिलाई आत्म–स्वीकृति र पुनःस्थापनाको बाटो खोलिदिन्छ । पुनस्र्थापना केन्द्र, आत्म–सहायता समूह, र सामुदायिक सञ्जालहरूले सहानुभूति र सशक्तिकरणको वातावरण सिर्जना गर्न सक्छन् । चौथो, नीति र शासनको तहमा मानसिक स्वास्थ्यप्रतिको पहुँच वृद्धि, सामाजिक न्यायको प्रवद्र्धन, र गरिबी न्यूनीकरण कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । एडिक्सनलाई कानुनी दृष्टिकोणबाट होइन, सामाजिक स्वास्थ्यको समस्याका रूपमा बुझेर पुनःस्थापनामा केन्द्रित रणनीति आवश्यक छ । त्यसैले पारिवारिक संरचना बलियो बनाइनुपर्छ—जहाँ बच्चाहरूले प्रेम, सुरक्षा, सुनुवाइ र समझदारीको अनुभूति गर्न पाउनेछन् । परिवारमै आत्मीयता, संवाद र सहकार्यको अभ्यास भएमा बालबालिकाले बाह्य लतहरूमा भाग्ने सम्भावना न्यून हुन्छ । यस्तो समग्र प्रणालीगत र संवेदनशील हस्तक्षेपबाट मात्र एडिक्सनको वास्तविक उपचार सम्भव हुन्छ ।
एडिक्सनको समाधानको खाका केवल औषधोपचार वा नियन्त्रणमै सीमित रहनु अब पर्याप्त छैन, किनभने यो समस्या गहिरो मानसिक, भावनात्मक र सामाजिक तहमा गाँसिएको हुन्छ ।
आजको डिजिटल युगमा सबैभन्दा तीव्र रूपमा फैलिरहेको एडिक्सनको रूप डिजिटल लत हो । विशेषतः बालबालिका र किशोर किशोरीहरू दिनभरि मोबाइल स्क्रिनमा टाँसिइरहेका छन्, जसले उनीहरूको मानसिक एकाग्रता, सामाजिक सम्बन्ध र भावनात्मक सन्तुलनलाई गम्भीर असर पु¥याएको छ । सामाजिक सञ्जाल, अनलाइन गेम, टिकटक जस्ता प्लेटफर्महरू “डोपामिनहिट” दिने स्रोत बनेका छन्, जसले तुरुन्तै सन्तुष्टि दिन्छ तर दीर्घकालीन अशान्ति र अस्थिरता निम्त्याउँछ । यसप्रवृत्तिको जरा भने घरमा ध्यान नपाउनु, विद्यालयमा घुलमिलको कमी, वा आत्मसम्मानको संकटमा लुकेको हुन्छ । समाधानको लागि अभिभावक, शिक्षक र नीति निर्माताहरूले डिजिटल साक्षरता, समय व्यवस्थापन, तथा ‘स्क्रिनडिटोक्स’ अभ्यासलाई शिक्षा प्रणाली र परिवारमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने आवश्यकता छ ।
यसबाहेक, एडिक्सनको समस्या केवल युवा वाकिशोरमा मात्र सीमित छैन, वृद्ध वर्गमा समेत यसको गम्भीर उपस्थिति देखिन्छ । अत्यधिक औषधिको प्रयोग, टेलिभिजन वा मोबाइलमा निर्भरता र मदिरा सेवन वृद्धहरूको आम समस्याका रूपमा देखिन थालेको छ । वृद्धावस्थामा आउने एक्लोपन, बेवास्ता, पारिवारिक दूरी र ‘बेकार’ महसुस गर्ने भावना यस्तो एडिक्सनतर्फ धकेल्ने प्रमुख कारण हुन् । तिनीहरूलाई सम्मान, सुन्ने वातावरण, सामाजिक क्रियाकलापमा सहभागिता, र समाजमा उपयोगी महसुस गराउने संरचना आवश्यक छ । वृद्धहरूको लतलाई केवल कमजोरी ठान्नु गलत हो—यो पनि उनीहरूको भित्री पीडा र बेवास्ताको उपज हो । त्यसैले, समाधान पनि सम्मान, सहभागिता र सहानुभूतिपूर्ण व्यवहारमार्फत खोजिनुपर्छ ।
एडिक्सनको बहुआयामिक प्रकृतिलाई बुझ्दा स्पष्ट हुन्छ कि यो कुनै व्यक्तिगत असफलता वा कमजोर इच्छाशक्तिको परिणाम होइन, बरु एक समग्र सामाजिक, मानसिक र भावनात्मक असन्तुलनको प्रतिबिम्ब हो । त्यसैले यसको उपचार पनि सतही उपायले होइन, गहिरो तहमा प्रवेश गरेर मात्र सम्भव छ । एडिक्सनको हरेक रूप भित्र “बुझिन नपाएको पीडा” लुकेको हुन्छ । त्यसैले समाधानको सुरुआत पनि त्यहींबाट हुनुपर्छ । मानिसहरूलाई सुनिन दिने, बुझ्ने र आत्मसम्मानको पुनर्निर्माण गर्नेबाटोबाट । यसले मात्र लतबाटव्यक्तिलाई मुक्त गर्न सक्ने सम्भावना प्रदान गर्छ ।
आजको दौडधुपको संसारमा प्रविधि, सम्पत्ति वा केवल औपचारिक शिक्षाले जीवन सन्तुलन दिन सक्दैन । बरु, आत्मीय सम्बन्ध, भावनात्मक सुरक्षा, सुन्ने समाज र मनोवैज्ञानिक समर्थन प्रणालीले मात्र मानवलाई जीवनप्रति आशावादी र स्थिर बनाउँछ । एडिक्सनको वास्तविक उपचार भनेको मानिसलाई फेरि “आफ्नै जीवनको सारथि” बन्न मद्दत गर्नु हो । त्यसका लागि परिवार, समाज र राज्य तीनै तहमा सहकार्य, संवेदनशीलता र व्यवहारिक हस्तक्षेप अपरिहार्य छन् । यही साझा प्रयत्न मार्फत मात्रै हामी एडिक्सनमुक्त, सशक्त र सन्तुलित समाज निर्माण गर्न सक्षम हुनेछौं ।
(लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हुन ।)

















