नेपालको भौगोलिक अवस्थाले देशको सामाजिक आर्थिक र शैक्षिक विकासमा महत्वपुर्ण भूमिका खेलेको छ । विशेष गरी भौगोलिक विकटता ग्रामीण शिक्षा क्षेत्रमा ठूलो असर परेको देखिन्छ । दुर्गम भूभाग, अप्ठ्यारो भौगोलिक बनावट र सिमित स्रोत समाधानको कारणले पनि ग्रामीण क्षेत्रको शिक्षा अवस्था कमजोर बन्दै गइरहेको छ । जसको प्रत्यक्ष असर देशको शैक्षिक प्रणालीमा समेत परिरहेको देखिन्छ । सडक सञ्जालको अभाव उचित स्रोत साधनको कमी भरपर्दो सञ्चारको कमी जस्ता विभिन्न भौतिक पूर्वाधारको कमीले गर्दा ग्रामीण क्षेत्रको शिक्षा अवस्था मात्र नभई जनजिवन नै कठिन भइरहेको छ ।
देशको करिब आधा भन्दा पनि बढी जनसंख्या भएको ग्रामीण क्षेत्र अहिले देशको प्राथमिकतामा पर्न सकेको छैन् । किनभने राज्यको बजेट विनियोजित भाषणमा मात्र सीमित रहने भएकाले ग्रामीण क्षेत्रको विकासमा ढिलाई र शैक्षिक प्रणाली खस्किदो अवस्थामा छ । जसले देशको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक जस्ता पक्षहरुमा निकै असर परेको देखिन्छ ।

नेपालमा भौगोलिक विकटताको कारणले ग्रामीण कतिपय क्षेत्रमा सडक सञ्जाल नभएका वा असहज बाटो भएका स्थानहरूमा विद्यालयसम्म पुग्न कठिनाई हुने भएकाले विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुने खतरा हुन्छ । साथै नेपाल एक विकास उन्मुख देश भएकाले पर्याप्त स्रोत साधन, दक्ष जनशक्तिको कमी र आर्थिक अवस्थाको अभावले गर्दा देशको ग्रामीण शिक्षा क्षेत्रमा सुधार हुन सकेको छैन । राज्यबाट एक त उचित बजेट विनियोजित हुदैन र भएको बजेट पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा ग्रामीण शिक्षा क्षेत्रमा निकै कठिनाई भईरहेको छ ।
यसबाट प्रत्यक्ष असर बालबालिका, शैक्षिक, अभिभावक लगायत समग्र शिक्षा प्रणालीमा समेत परेको देखिन्छ । त्यसैले शिक्षाको पहुँच, गुणस्तर, पूर्वाधार, दक्ष जनशक्ति र प्रविधिको प्रयोग जस्ता पक्षहरुमा सुधार गर्नु आवश्यक छ । किनभने त्यसले ग्रामीण शिक्षा सुधारमा, बालबालिका, किशोरकिशोरी र युवाहरुलाईउज्यालो भविष्य निर्माण गर्न सक्षम बनाउँछ, जसले देशको समग्र विकासमा टेवा पु¥याउछ । ग्रामीण विद्यालयहरुमा पर्याप्त भवन, शौचालय, खानेपानी, छात्रावास र प्रविधिमैत्री वातावरण अभाव देखिन्छ । ग्रामीण क्षेत्रका कतिपय स्थानहरूमा शिक्षाको राम्रो पहुँच भएपनि त्यसको गुणस्तर कायम गर्न कठिनाई भएको छ ।
नेपाल हिमाल, पहाड र तराई भूभागले बनेको देश हो । जसले विविध भौगोलिक बनावट समेटेको छ । यस्ता भौगोलिक विविधताले देशको समग्र विकासमा अवसर सँगै चुनौती पनि ल्याएको छ । विशेष गरी शिक्षा क्षेत्रमा यसको प्रभाव अत्यन्तै गम्भीर छ । उच्च हिमाली भेगहरुमा कठोर भू–प्रकृति, पहाडी क्षेत्रहरूमा विकट बस्ती र यातायातको अभाव तथा तराई क्षेत्रमा सामाजिक र आर्थिक असमानताले शिक्षाको पहुँचलाई सीमित बनाएको छ ।
ग्रामीण शिक्षाको अवस्था बिश्लेषण गर्दा धेरै पक्षहरुमा कमजोरी देखिन्छ । सबैभन्दा प्रमुख समस्या भनेको शिक्षाको पहुँच, गुणस्तर र निरन्तरताको कमी हो । नेपालका अधिकांश ग्रामिण भेगहरुमा विद्यालय छन् तर उक्त विद्यालयहरुमा शिक्षकको दरबन्दी अपूर्ण छ त कतै दरबन्दी छ तर योग्य शिक्षक छैनन् । वर्तमान अवस्थामा ग्रामीण शिक्षा क्षेत्र निकै कमजोर बन्दै गइरहेको छ । कतिपय विद्यालयहरू वर्षौंसम्म अस्थायी भवनमा चलिरहेका छन् जुन बर्खायाममा पढाइ नै बन्द हुने अवस्थामा पुग्छन् ।
ग्रामीण क्षेत्रमा शिक्षा सुधारका लागि केही विशेष पहल आवश्यक छन् । पहिलो भौतिक पूर्वाधारमा व्यापक लगानी गर्नुपर्ने जस्तै पक्की भवन, शौचालय, खानेपानी, पुस्तकालय, छात्राबास, कम्युटर र इन्टरनेट जस्ता आधारभूत सुविधाले सिकाई वातावरण सुधार गर्छ । दोस्रो योग्य, अनुभवी, तालिम प्राप्त शिक्षकहरूलाई ग्रामीण क्षेत्रमा सेवा दिने वातारण तयार गर्नु पर्छ जसकालागि उचित प्रोत्साहन, सेवा सुविधा तथा सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ । तेस्रो, स्थानिय पाठ्यक्रमको विकास र मातृभाषा शिक्षण प्रणालीलाई प्राथमिक कक्षादेखि लागू गर्नुपर्छ, जसले बालबालिकालाई बुझ्न र सिक्न सहज बनाउँछ । चौथो, विद्यार्थीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न अभिभावकलाई शिक्षाको महत्व बारे सचेत गराउनु आवश्यक छ ।

नेपालमा शिक्षा क्षेत्रमा निती त छ तर यसको कार्यान्वयनको कमजोर संरचना देखिन्छ । ग्रामिण क्षेत्रमा विद्यालय व्यवस्थापन समितिहरुको प्रभावकारीताको कमी, शिक्षकको नियमितता र उत्तरदायित्व निर्धारणको कमी, शिक्षक दरबन्दीको कमी र सरकारी बजेटको न्यून उपयोग, अनियमित अनुगमन र योजनाहरुको अव्यवस्थित कार्यन्वयनले शिक्षाको गुणस्तरमा गम्भीर असर पारिरहेको छ । त्यस्तैगरि पढ्यपुस्तक ढिलो पु¥याउने, तालिम कार्यक्रमको कमी, स्थानिय सरकारको निगरानीको कमी, राज्य बाट विनियोजित बजेटको सही ढङ्गबाट प्रयोग नहुनु र समसामयिक प्रविधिको अभावसमेत प्रमुख समस्या बनेको छ । साथै अभिभावकहरुको शिक्षा बारे चेतनाको अभावले पनि ग्रामीण विद्यालयहरुमा विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन घट्दो क्रममा छ ।
नेपालको ग्रामिण शिक्षा क्षेत्र समग्र शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा भएपनि विभिन्न संरचनात्मक, सामाजिक, राजनीतिक र आर्थिक समस्याले ग्रस्त छ । ग्रामीण क्षेत्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको अभाव अपर्याप्त पूर्वाधार, शिक्षकको कमी सामाजिक र सांस्कृतिक अवरोधहरु र प्राविधिक पहुँचको अभावले शिक्षाको स्तरलाई खस्काएको छ । यी समस्याहरूले ग्रामिण बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नवाट वञ्चित गरिरहेको छ । जसले उनीहरूको भविष्य र राष्ट्रको समग्र विकासमा नकारात्मक प्रभाव पार्छ ।
ग्रामीण क्षेत्रमा योग्य शिक्षकहरूको दरबन्दी रिक्त रहन्छ किनभने धेरै शिक्षकहरू शहरमा बस्न रुचाउछन् । जसले गर्दा ग्रामीण क्षेत्रमा शिक्षकहरु प्रायः स्थानिय सरकार केन्द्रित शिक्षकहरू हुन्छन, जुन योग्य अनुभवी र तालिम केन्द्रित हुँदैनन् । यस्ता शिक्षकको दरबन्दीले ग्रामीण क्षेत्रको शिक्षामा ठूलो प्रभाव परेको छ । स्थानिय सरकारद्वारा नियुक्ति हुने शिक्षकहरू बढी जसो आफ्ना नातागोता र सम्बन्धित राजनीतिक दल निकटका व्यक्तिहरू हुन्छन । तर तिनीहरू पुर्ण योग्य भने हुँदैनन् । ग्रामीण क्षेत्रमा योग्य शिक्षक नहुने होइनन् तर तिनीहरूको योग्यताका आधारमा नियुक्ति हुँदैन किनभने योग्य शिक्षकले नियुक्ति पाउन कुनै न कुनै स्थानिय सरकार निकटको दल संग आबद्ध हुनुपर्छ, तब मात्र उक्त शिक्षकले नियुक्ति पाउँछ ।
अर्को मुख्य समस्या भनेको जीवन उपयोगी पाठ्यक्रम अभाव र सान्दर्भिकता पनि एक प्रमुख समस्या हो । हालको पाठ्यक्रम प्रायः शहरी क्षेत्रको आवश्यकता र सन्दर्भमा आधारित छ, जसले ग्रामीण विद्यार्थीको जिवनशैली र आवश्यकता संग मेल खाँदैन । यस्तो पाठ्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीका अवसरहरू प्राप्त गर्न कठिनाई सिर्जना हुन्छ ।
सामाजिक र आर्थिक चुनौतीहरूले पनि ग्रामीण शिक्षालाई जटिल बनाएका छन् । ग्रामीण क्षेत्रका अधिकांश परिवारहरू गरिबीको रेखामुनि छन् र उनीहरूले आफ्ना बालबालिकालाई स्कूल पठाउनु भन्दा खेतीपाती, घरायासी काम वा साना उद्योगमा लगाउन बाध्य हुन्छन् । विशेष गरी बालिका शिक्षामा पहुँचको कमी छ, किनभने धेरै परिवारहरूले छोरीहरुलाई पढाउनुको सट्टा चाँडै विवाह गरिदिन्छन् । लैङ्गिक असमानता, जातिय विभेद र सामाजिक रुढिहरुले पनि शिक्षाको पहुँचलाई सीमित गर्छ । यस्ता चुनौतिहरुले विद्यार्थीहरूको स्कूल छोड्ने दर बढ्दो रहेको छ, जसले दीर्घकालीन रूपमा सामाजिक र आर्थिक असमानता झन् गहिरो बनाउँछ ।
शिक्षा विकाशको मेरुदण्ड र प्रत्येक व्यक्तिको आधारभूत अधिकार हो । नेपालको वर्तमान अवस्थामा ग्रामीण क्षेत्रमा अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुने विद्यार्थीहरूको संख्या धेरै छ । ग्रामीण र शहरी क्षेत्रको शिक्षाले समग्र देशको सामाजिक आर्थिक तथा मनोवैज्ञानिक रूपमा प्रभाव पारिरहेको छ । ग्रामीण शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्न सकियो भने यसले राष्टको विकासमा अहम भूमिका निभाउन सक्छ ।
नेपालको ग्रामीण शिक्षा सुधारका लागि सबैभन्दा आवश्यक कदम भनेको भौतिक पुर्वाधारको विकास हो । गाउँका विद्यालयहरुमा सुरक्षित र पक्की भवन, पर्याप्त कक्षाकोठा, छात्रावास, स्वच्छ शौचालय, खानेपानी, पुस्तकालय, कम्प्युटर, इन्टरनेट आधारभूत सुविधाहरु सुनिश्चित गर्नु आवश्यक छ । यस्ता सुविधाले सिकाईको वातावरण सुधार गर्छ । साथै कोभिड– १९ पछि प्रविधिमैत्री शिक्षा अनिवार्य बनिसकेको सन्दर्भमा ग्रामीण क्षेत्रको डिजिटल पहुँच सुनिश्चित गर्नु समय सापेक्ष आवश्यकता हो ।
नेपालको ग्रामिण शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि बहुपक्षीय प्रयास आवश्यक छ । भौतिक पूर्वाधार, योग्य शिक्षक, स्थानीय पाठ्यक्रम, प्रविधिको प्रयोग, र सामाजिक सचेतनाको अभिवृद्धि जस्ता उपायहरू अपनाएमा मात्र ग्रामिण बालबालिकाहरू गुणस्तरीय शिक्षाबाट लाभान्वित हुन सक्छन् । शिक्षा सबैको अधिकार हो, र यसलाई देशको कुनाकुनासम्म पु¥याउन सरकार, समुदाय र संस्थाहरूको एकीकृत प्रयास अपरिहार्य छ । ग्रामिण शिक्षा सुधार राष्ट्रको सामाजिक–आर्थिक समृद्धिको मूल आधार हो, जसलाई वर्तमान अवस्थामा नै मजबुत बनाउनैपर्छ ।
(लेखक हरक सिंह बिस्ट सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।)


















