आजको युगलाई ‘प्रविधिको युग’ भनिनुका पछाडि वैज्ञानिक उपलब्धि र नवप्रवर्तनका अनेक पक्षहरू छन्, जसले मानव जीवनलाई तीव्र, सुलभ र वैश्विक बनाएका छन् । प्रविधिले शिक्षा, सञ्चार, स्वास्थ्य, कृषि, उद्योग लगायतका क्षेत्रमा अद्वितीय रूपान्तरण ल्याएको छ । तर, प्रविधिको प्रभाव केवल सकारात्मक पक्षमा मात्र सीमित छैन; यसले केही गम्भीर सामाजिक, नैतिक र मानसिक चुनौतीहरू पनि निम्त्याएको छ । तसर्थ, प्रविधिको बहुआयामिक प्रभावको समालोचनात्मक रूपमा विश्लेषण गर्नु अपरिहार्य छ, जसले हामीलाई यसको विवेकशील प्रयोगतर्फ उन्मुख गराउन सक्छ ।
शिक्षा क्षेत्रमा प्रविधिको योगदान उल्लेखनीय छ । डिजिटल माध्यमबाट सिकाइका शैलीहरू विस्तार भएका छन । जस्तै अनलाइन कक्षा, ई–पुस्तक, युट्युब सामग्री, जुम र गुगल क्लासरुम जस्ता प्लेटफर्महरूले सिकाइलाई समावेशी र पहुँचयोग्य बनाएकाछन् । विशेषगरी ग्रामीण भेगका विद्यार्थीहरूका लागि यो प्रविधि वरदान सावित भएको छ, जसले उनीहरूलाई भौगोलिक दूरी हटाएर समान अवसर प्रदान गरेको छ । प्रविधिको कारण शिक्षा अहिले समय र स्थानको सीमाबाट मुक्त भई व्यापक हुँदैगएको छ ।

यद्यपि, यही प्रविधिको अत्यधिक प्रयोगले शिक्षामा केही गम्भीर समस्याहरू पनि जन्माएका छन । शिक्षक र विद्यार्थीबीचको प्रत्यक्ष अन्तरक्रिया घटेको छ, जसले शैक्षिक अनुशासन, सामाजिक व्यवहार र सह–अस्तित्वका मूल्यहरूमा ह्रास ल्याएको छ । त्यस्तै, विद्यार्थीहरू अनलाइन कक्षामा सक्रिय नभइ ध्यान अन्यत्रै केन्द्रित गरिरहेका पाइन्छन् । कृत्रिम बुद्धिमत्ता र च्याटजीपीटीजस्ता उपकरणको दुरुपयोग गरेर नकल संस्कृतिमा रमाउने प्रवृत्ति मौलाएको छ, जसले सिर्जनशीलता र मौलिकताको क्षय गरिरहेको छ ।
सञ्चारक्षेत्रलाई हेर्दा प्रविधिले सबैभन्दा तीव्र परिवर्तन यही क्षेत्रमा ल्याएको देखिन्छ । अघिल्ला समयमा सूचनाको आदानप्रदानका लागि चिठीको भर पर्नुपर्ने हुन्थ्यो, तर आज इन्टरनेटको माध्यमबाट सेकेन्डभित्रै संसारका कुनाकाप्चासम्म सन्देश पठाउन सकिन्छ । मोबाइल फोन, सामाजिक सञ्जाल, इमेल, भिडियोकलजस्ता प्रविधिले मानिसहरूको सम्बन्धलाई नयाँ स्वरूप दिएका छन् । तर, यिनै प्रविधिको अति प्रयोगले आभासी सम्बन्धमा सीमित बनाउँदै मानिसको सामाजिकपनमा ह्रास ल्याएको छ, जसले पारिवारिक एवं आत्मीय सम्बन्धहरूमा टुटफुट ल्याइरहेको छ । यसरी प्रविधिको प्रयोग सन्तुलित नहुँदा यसको नकारात्मक प्रभाव समाजमा गहिरो रूपमा महसुस भइरहेको छ ।
प्रविधि मानव जीवनको अपरिहार्य अङ्ग हो, जसको सही दिशा, मर्यादा र नियमन सहितको प्रयोगले मात्र समावेशी, सन्तुलित र समृद्ध भविष्यको निर्माण सम्भव हुन्छ । प्रविधिको सदुपयोग नै आजको प्रमुख आवश्यकताका रूपमा स्थापित हुनुपर्छ ।
आजको युगमा सामाजिक सञ्जालहरू दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाछन्, तर यिनै प्रविधिहरूले सामाजिक जीवनमा विकृति पनि निम्त्याएका छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले मानिसलाई आभासी सम्बन्धमा बाँध्ने काम गरेका छन्, जसले आत्मीयता र पारस्परिक संवेदनामा गिरावट ल्याएको छ । युवा पुस्ताको समय र ऊर्जा यस्ता माध्यममा खर्च हुँदै जाँदा अध्ययन, सिर्जनशीलता र सामाजिक जिम्मेवारीमा उदासीनता देखिएको छ । सम्बन्धहरू वास्तविकता भन्दा ‘लाईक’ र ‘रियाक्सन’ को गहिराइमा सीमित हुँदा मानिसबीचको भावनात्मक सम्बन्ध कमजोर बनिरहेको छ ।
स्वास्थ्य सेवामा प्रविधिको प्रयोगले साँच्चिकै क्रान्ति ल्याएको छ । टेलिमेडिसिन सेवाको विकासले भौगोलिक दूरी हटाउँदै रोगीलाई विशेषज्ञसँग प्रत्यक्ष संवाद गर्ने मौका दिएको छ । डिजिटल एक्सरे, एमआरआई, सीटी स्क्यान, रोबोटिक सर्जरीजस्ता अत्याधुनिक प्रविधिको प्रयोगले गम्भीर रोगको समयमै पहिचान र उपचार सम्भव भएको छ । विशेष गरी दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँचका लागि प्रविधि एउटा वरदान सावित भएको छ, जसले सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढाएको छ ।
तर, प्रविधिमा अत्यधिक निर्भरता र यसको अन्धाधुन्ध प्रयोगले गम्भीर चुनौतीहरू पनि उत्पन्न गराइरहेको छ । डिजिटल स्वास्थ्य एप्सको आधारमा आफूलाई औषधि दिन थाल्ने वा इन्टरनेटमा उपलब्ध जानकारीकै भरमा उपचार गर्ने प्रवृत्तिले ‘गुगल डाक्टर’ बन्ने खतरा बढाएको छ । यसले रोगको गलत निदान र उपचारमार्फत स्वास्थ्य जोखिम थप बढाइरहेको छ । त्यस्तै, प्रविधिले चिकित्सक र बिरामी बीचको परम्परागत संवेदनशील सम्बन्धलाई भंग गर्दै मानवतावादी उपचार संस्कृतिलाई कमजोर पार्न थालेको छ ।
कृषि क्षेत्र पनि प्रविधिको सकारात्मक प्रभावबाट अछुतोछैन । प्रविधिको सहायताले किसानहरू मल, बीउ, आधुनिक सिँचाइ प्रविधि, मौसम पूर्वानुमानजस्ता महत्वपूर्ण सूचनामा सजिलै पहुँच राख्न सक्ने भएका छन् । यान्त्रिक उपकरणको प्रयोगले कृषि प्रक्रिया सरल, छिटो र उत्पादक बनाएको छ । साथै, अनलाइन बजार प्रणालीको विकासले कृषकहरूलाई बिचौलियाको शोषणबाट मुक्त गर्दै आफ्ना उत्पादनको उचित मूल्य पाउन सक्ने सम्भावना देखाएको छ । यद्यपि, यी प्रविधिहरू सबै किसानको पहुँचमा नपुग्दा सामाजिक र आर्थिक असमानताको खतरा पनि बढिरहेको छ, जसलाई नीति निर्माणका तहबाट सम्बोधन गर्न जरुरी छ ।

प्रविधिले कृषिमा धेरै सकारात्मक परिवर्तन ल्याएको भएपनि सबै किसानले यसको लाभ बराबरी रूपमा पाएका छैनन् । विशेषगरी साना किसानहरू प्रविधिबाट टाढा छन्, जसका कारण उनीहरू अझै परम्परागत औजार र विधिमै निर्भर छन् । प्रविधिमा पहुँच नहुनु र आवश्यक ज्ञानको अभावले उनीहरूलाई आधुनिक कृषि प्रविधिबाट वञ्चित गराएको छ, जसले कृषिमा वर्गीय विषमता बढाएको छ । साथै, अत्यधिक यान्त्रिकीकरणले परम्परागत ज्ञान, सामुदायिक सहयोग र आत्मनिर्भरताको संस्कृति कमजोर बनाउँदै लोप हुने खतरा पनि बोकेको छ, जसले दीर्घकालीन रूपमा कृषिको आत्मा नै मेट्न सक्छ ।
यातायात क्षेत्रमा प्रविधिको प्रयोगले यात्रालाई सजिलो, छरितो र व्यवस्थित बनाएको छ । जिपिएस प्रविधिले मार्ग पहिचान सजिलो बनाएको छ भने डिजिटल टिकटिङ र अनलाइन सेवा प्रणालीले यात्रीलाई लामो पर्खाइ र झन्झटबाट बचाएको छ । तर नेपाल जस्ता विकासोन्मुख मुलुकमा अझै पनि ट्राफिक व्यवस्थापन, सडक सुरक्षाका उपकरण र आपतकालीन प्रविधिको समुचित विकास र प्रयोग हुन सकेकोछैन । प्रविधिको पहुँच र प्रभावकारी उपयोगबीचको खाडल हटाउन आवश्यक पूर्वाधार, नीति र दक्ष जनशक्ति आवश्यक देखिन्छ ।
प्रविधिको प्रभाव मानव सम्बन्ध र सामाजिक संरचनामा गहिरो रूपमा देखिएको छ । पहिलेको जस्तो आत्मीय भेटघाट, सामूहिक जमघट र सहकार्यको संस्कृति क्रमशः हराउँदै गइरहेको छ । अहिलेका पारिवारिक सम्बन्ध मोबाइल स्क्रिन र सामाजिक सञ्जालका ‘स्टाटस’ र ‘रियाक्सन’ भित्र सीमित भइरहेका छन् । विशेष गरी बालबालिका वास्तविक खेलकुद, प्राकृतिक अनुभव र सामाजिक अन्तरक्रियाबाट टाढा हुँदै डिजिटल माध्यममा मात्र केन्द्रित छन्, जसले उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा नकारात्मक असर पु-याइरहेको छ ।
यसैगरी, प्रविधिले मानिसलाई शारीरिक रूपमा निष्क्रिय बनाउँदै लगेको छ । पहिलेका दैनिक क्रियाकलापहरू अब एक थिचाइमा सीमित भएका छन्, जसको असर स्वास्थ्यमा प्रत्यक्ष देखिएको छ । जस्तै मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याहरू वृद्धि हुँदै गएका छन् । मानवीय शरीर र मस्तिष्कलाई सक्रिय राख्न आवश्यक गतिविधिहरू घट्दै जानु दीर्घकालीन रूपमा गम्भीर चिन्ताको विषय हो । साथै, भर्चुअल दुनियाँमा अत्यधिक आश्रित भई वास्तविक जीवनका मूल्य र सम्बन्धहरूबाट टाढिँदै जानु सामाजिक सन्तुलन र मानवीय अस्तित्वका लागि खतराको संकेत बन्न थालेको छ ।
प्रविधिले मानवीयता, नैतिकता र जिम्मेवारीको भावनालाई विस्थापित गर्नुहुँदैन । प्रविधिको प्रयोग सशक्त समाज निर्माणका लागि हुनुपर्छ, मानव नै प्रविधिको दास नबनोस् ।
प्रविधिले मानव जीवनका विविध पक्षहरूमा अभूतपूर्व परिवर्तन ल्याएको भएतापनि मानसिक स्वास्थ्यमा यसको नकारात्मक प्रभाव गहिरो रूपमा देखा परेको छ । इन्टरनेट र भिडियो गेमको लत, सामाजिक सञ्जालप्रतिको अत्यधिक निर्भरता, तनाव, डिप्रेशनजस्ता मनोवैज्ञानिक अवस्थाहरू आजका युवायुवतीहरूमा सामान्य जस्तै बनेका छन् । सामाजिक सञ्जालमा अरूको जीवनसँग तुलना गर्ने प्रवृत्तिले आत्मग्लानि, हीनताबोध र असन्तुष्टिको भावना जन्माएको छ, जसको दीर्घकालीन असर तनाव, निराशा र आत्महत्या दरको वृद्धिमा देखिन्छ । प्रविधिले सहजता त दिएको छ, तर मानसिक शान्ति खोसेको स्पष्ट देखिन्छ ।
सांस्कृतिक र भाषिक विविधताको सन्दर्भमा प्रविधिको भूमिका जटिल देखिन्छ । एकातिर यसले लोकसंस्कृति, भाषा र परम्परालाई अभिलेखीकरण गर्न र प्रसार गर्न मद्दत पु-याएको छ भने अर्कातिर, वैश्वीकरणको नाममा सांस्कृतिक एकरूपताको खतरा पनि बढाएकोछ । विदेशी भाषा, पहिरन, खानपान, र जीवनशैलीको अन्धानुकरणले मौलिक नेपाली पहिचानमा चोट पु-याइरहेको छ । प्रविधिको प्रभावले स्थानीय भाषाहरू लोप हुँदै गएका छन्, र सांस्कृतिक विविधता कम हुँदै एक ढाँचाको सांस्कृतिक उपभोक्तावाद जन्मिन थालेको छ, जुन सशक्त राष्ट्रिय पहिचानका लागि चिन्ताको विषय हो ।
साथै, प्रविधिको प्रयोग अपराधका नयाँ स्वरूपहरू जन्माउने माध्यम पनि बनेको छ । साइबर क्राइम, ह्याकिङ, अनलाइन ठगी, बाल यौन शोषण, र डेटा चोरीजस्ता अपराधहरू प्रविधिको आडमा बढिरहेका छन् । सुरक्षा प्रणाली पर्याप्त सुदृढ नहुँदा नागरिकको गोपनीयता संकटमा पर्ने खतरा बढ्दो छ । विशेषगरी कमजोर नियमन, साइबर साक्षरताको अभाव र कानुनी कमजोरीका कारण प्रविधि सम्बन्धी अपराध नियन्त्रण चुनौतीपूर्ण भइरहेको छ । प्रविधिले नयाँ सम्भावना दिएको छ भने त्यससँगै जोखिम र खतरा पनि ल्याएको यथार्थलाई अस्वीकार गर्न सकिन्न ।
तर, यी सबै समस्याहरूको समाधान प्रविधिलाई तिरस्कार गर्नु होइन, बरु यसको विवेकपूर्ण प्रयोग र सन्तुलित व्यवस्थापन गर्नु नै हो । प्रविधिले मानवीयता, नैतिकता र जिम्मेवारीको भावनालाई विस्थापित गर्नुहुँदैन । प्रविधिको प्रयोग सशक्त समाज निर्माणका लागि हुनुपर्छ, मानव नै प्रविधिको दास नबनोस् । अन्ततः प्रविधि मानव जीवनको अपरिहार्य अङ्ग हो, जसको सही दिशा, मर्यादा र नियमन सहितको प्रयोगले मात्र समावेशी, सन्तुलित र समृद्ध भविष्यको निर्माण सम्भव हुन्छ । प्रविधिको सदुपयोग नै आजको प्रमुख आवश्यकताका रूपमा स्थापित हुनुपर्छ ।
लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकि विद्याथी हुन् ।

















