अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ बिजौरामा आयोजना गरिएको आँखा शिविरमा ८ सय बढी जनाले सेवा लिएका छन । शनिबार एक दिन आयोजना गरिएको उक्त शिविरमा ८६० जनाले सेवा लिएका हुन ।
बिजौरामा रहेको भागेश्वर आधारभुत विद्यालय र बडेहा बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए । शिविरलाई नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालले प्राविधिक रुपमा सहयोग गरेको थियो भने मितेरी साइनो युवा क्लबले सह आयोजकको रुपमा सहयोग गरेको थियो ।


शिविरमा ५९२ जना महिला र २६८ जना पुरुष गरि ८६० जनाले सेवा लिएको बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चेतराज पन्तले बताए । उनका अनुसार सेवा लिएका मध्ये ५०० जनालाई आँखा जाँच गरेर औषधी दिईएको थियो भने ३५० जनालाई चस्मा दिईएको थियो । यस्तै शिविरमा आएका ५६ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनिहरुलाई अप्रेशनका लागि गेटा आँखा अस्पतालमा पठाईएको पन्तले बताए ।
उनले शिविरबाट आँखा अस्पतालमा जाने सेवाग्राहीको मोतियाबिन्दुको अप्रेशन निःशुल्क गरिने बताए । पन्तले गेटा आँखा अस्पतालको नजिकै भएपनि शिविरमा स्थानियहरुको उल्लेख्य उपस्थिती भएको बताए । उनले विशेष गरी हिडडुल गर्न समस्या हुने ज्येष्ठ नागरिकहरुका लागि शिविरको आयोजना गरिएको भएपनि टाढा टाढाबाट पनि सेवा लिनका लागि सेवाग्राहीहरु आएका बताए । ‘हामीले स्थानिय ज्येष्ठ नागरिकहरुलाई विशेष ध्यानमा राखेर शिविर सञ्चालन गरेका थियौँ’ उनले भने ‘तर शिविरमा टाढा टाढाबाट समेत सेवाग्राहीहरु आउनुभयो, उहाँहरुलाई पनि हामीले सेवा दिएका छौ । स्थानियहरुको पनि सहभागीता उल्लेख्य भयो ।’
यसअघि १ जना ज्येष्ठ नागरिकको उपचार सुरु गरेर शिविरको सुभारम्भ गरिएको थियो । शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पतालका उपाध्यक्ष यज्ञराज चौधरीले आँखा अस्पतालले गर्नुपर्ने काम आयोजकहरुले गरिरहेको बताए । उनले आखाँ नभई नहुने अंग भएकाले यसको सुरक्षामा सबैले ध्यान दिनुपर्ने बताए ।


















