खाेज्नुहाेस

धनगढीको मोहना क्षेत्रमा नदी कटान रोक्न ३२ हजार बिरुवा रोपिँदै

Image

धनगढी – धनगढीको मोहना नदी क्षेत्रको कटान रोक्नका लागि ३२ हजार बिरुवा रोपिने भएका छन् । डिभिजन वन कार्यालय कैलाली सहर्काय र नेचर नेक्सस नेपालको आयोजनामा धनगढी उपमहानगरपालिका – ३ र १३ मा अवस्थित डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा बिरुवा रोपिन लागेका हुन ।

बिरुवा रोप्ने कार्यको शनिवार डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत कृष्णदत्त भट्टले शुभारम्भ गरेका छन् । उनले वन क्षेत्रभित्र खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गर्न लागिएको बताए । उनले भने ‘वृक्षारोपणले नदी कटान रोकथाममा सहयोग पुग्नेछ, साथै वातावरणीय सन्तुलन कायम गर्न पनि यो महत्त्वपूर्ण भूमिका खेल्छ ।’

attariya hospital
navjiwan hospital

डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरले सामुदायिक वनभित्रका खाली जमिनमा २० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना रहेको बताए ।

‘मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै बिरुवा लगाइएको हो’ उनले भने, ‘आगामी दिनमा नर्सरी उत्पादन गरेर बाँझो जमिनमा थप वृक्षारोपण गरिनेछ ।’ लगाइएका बिरुवाको संरक्षणका लागि अस्थायी बाँध निर्माण गर्ने र नियमित हेरचाहको व्यवस्था मिलाउने उनले बताए ।

नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र विष्टले वृक्षारोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा पनि सहयोग पुग्ने बताए । सो वनमा गरिएको अनुसन्धानका क्रममा थुप्रै खाली क्षेत्र फेला परेकोले यसमा वृक्षारोपण गर्ने योजना बनाएको उनले बताए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण एक भरपर्दो उपाय भएको भन्दै उनले जैविक विविधता संरक्षणका लागि समेत वृक्षारोपण अनिवार्य रहेको बताए ।