खाेज्नुहाेस

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

Image

काठमाडौँ– एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि नेपालले हात पारेको छ। मलेसियमा भएको फाइन खेलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो।

शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ५३ बलमा तीन चौका प्रहार गरे । सिवान्स बजगाईंले २० रन थप्दा सुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७ र परिमार्जन यादवले १३ रन जोडे । अभय यादव १० रनमा अविजित रहे ।

attariya hospital
navjiwan hospital

सिंगापुरका कपिस वेन्कटरमनले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । युभव पाण्डेले दुई विकेट लिँदा आकाश तेजा र वेदान्स गुप्ताले समान एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा आएको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको थियो ।

सिंगापुरका रोहन अस्टिन अरुनले सर्वाधिक २३ रन बनाएका थिए । कप्तान रियान नाइकले १५, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन थपे । नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान तीन विकेट लिए । सुभम खनालले दुई विकेट लिँदा विपीनप्रसाद शर्माले एक विकेट हात पारे ।

नेपालले यसअघि समूह चरणको खेलमा पनि सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको थियो ।