अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा लागुऔषध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाको सहयोगमा अत्तरिया सञ्चार संघले कार्यक्रमको आयोजना गरेको हो ।
लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धमा विद्यार्थी युवायुवतीहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । संघका महासचिव धुर्व ओझाले पछिल्लो समय भयावह रुपमा फैलिएको लागुऔषध न्यूनिकरणका लागि विद्यालयस्तरमा कार्यक्रम आयोजना गर्न लागेको बताए । उनले विद्यालयस्तरबाट नै लागुऔषधको जालो भत्काउने नगरपालिकाले लक्ष्य लिएको र सो लक्ष्य अनुसार काम गर्ने जिम्मेवारी संघलाई दिईएको बताए ।



विद्यार्थीहरुलाई लागुऔषधको प्रयोगले गर्ने असर, कानुनी कारबाहीहरु तथा लागुऔषधको जालोमा फस्नबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा प्रशिक्षकहरुले जानकारी दिने उनले बताए । उनका अनुसार सो कार्यक्रम नगरका ७ वटा विद्यालयहरुमा सञ्चालन गरिनेछ । जसमध्ये २ वटा संस्थागत र ५ वटा सामुदायिक विद्यालयहरु रहने उनले बताए । उनले कार्यक्रमको प्रशिक्षकका रुपमा दुई जना रहने समेत जानकारी दिए ।
शुक्रबार सो कार्यक्रमको औपचारीक रुपमा उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नं. ८ मा रहेको शारदा माध्यमिक विद्यालयमा औपचारीक रुपमा कार्यक्रमको सुरुवात गरिएको हो । संघका उपाध्यक्ष राजकुमार साउँदको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष गोबिन्द चौधरी रहेका थिए ।
कार्यक्रममा वडासदस्य चन्द्र बिसि, स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा, युवा समाजसेवी बालकृष्ण भट्टराई, विद्यालयका प्रधानाध्यापक भोजराज जोशी लगायतको सहभागिता रहेको थियो । संघका महासचिव धुर्व ओझाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संघकी कोषाध्यक्ष शारदा फुलाराले गरेकी थिईन । सो विद्यालयमा प्रशिक्षकका रुपमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक ईन्द्रराज भट्ट र गोपाल जोशी रहेका छन ।
