काठमाडौँ – उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हालसम्मकै ठुलो क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
बिहीबार न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।



इजलास अधिकृत शोभाकर खरेलले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला भएको जानकारी दिए ।
यसअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सक यादवले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
२०८० माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेका थिए । तर स्वास्थ्य सुधार हुनुको साँटो अस्पताल र चिकित्सकको लापरबाहीको कारण अवस्था बिग्रिएको मृतक शिशुका बुवा गौतमको भनाइ छ ।
