अत्तरिया– कैलालीको गोदावरी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बिच पालिकास्तरिय खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो । राष्ट्रिय खोप तालिका अनुसार नगरका सबै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको समितिले जनाएको छ ।
समितिका संयोजक एवम् गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुनु नगरबासी सबैको लागि खुसीको खबर भएको बताए । उनले स्वास्थ्यकर्मीहरुको अथक प्रयास र खोपकर्ताहरुको आत्मविश्वासले पूर्ण खोप लगाउन सकिएको बताए । उनले स्वास्थ्यका क्षेत्रमा अझै पनि संवेदनशिल भएर कर्मचारीहरु लाग्नेछन भन्ने विश्वास लिएको बताए । उनले कर्मचारीहरुका लागि नगरले गर्नुपर्ने कार्यमा पनि पालिका पछि नहट्ने बताए । नगरप्रमुख भट्टले विगतका कमीकमजोरीहरुलाई हटाउदै कसरी स्वस्थ नगरपालिकाको रुपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा सबै अग्रसर बन्न जरुरी रहेको समेत बताएका छन । कर्मचारीहरु संवेदनशिल भएर लागे नगरपालिका कुनै पनि कार्यमा डाउन नहुने उनको भनाई छ ।


कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले नगरलाई पूर्ण खोप सुनिश्चित गर्नमा सबैको भुमिका प्रशंसायोग्य रहेको बताईन । उनले खोपका कारण पछिल्लो समय शिशु तथा मातृ मृत्युदरमा समेत कमी आएको बताईन । उनले आगामी दिनहरुमा पनि खोपकार्यकर्ताहरुले यसरी नै समग्र स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताईन ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले राष्ट्रिय खोप तालिकाका सबै मापदण्डहरु पुरा गरिसकेकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताए । उनले सो सुनिश्चिततालाई दिगो सम्म लैजानुपर्ने प्रतिबद्धता समेत कार्यक्रममा सहभागिहरुले गरेको बताए । उनले हालसमम ९३ प्रतिशत खोप कार्यान्वयन भैसकेको छ । आगमी वर्ष अझै खोप कार्यान्वयनको संख्या बढाईने उनले बताए ।
नगरप्रमुख भट्टले खोप सुनिश्चित भएको र दिगोपना राख्ने प्रतिबद्धता पत्र पढेर खोप सुनिश्चितता पालिका घोषणा गरेका थिए । साथै उनले सो पत्रमा हस्ताक्षर गरेर दिगोपना राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रमका सहभागीहरुले पूर्ण खोप सुनिश्चित पालिकालाई दिगो राख्ने प्रतिबद्धता स्वरुप सो पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा खोप कार्यक्रममा उत्कृष्ट योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मानित गरिएको थियो । पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम चालु आर्थिक वर्षमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित गर्न सम्पुर्ण बालबालिकाहरुलाई १५ महिना उमेर भित्र पाउनुपर्ने सबै खोप दिईसकिएको नगरपालिकाले जनाएको छ ।
















