अत्तरिया – नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहने गरी २ वर्ष अघि नै स्थापन भएको गेटा अस्पतालले अझै आफ्नो बैङ्क खाता सञ्चालन गर्न सकेको छैन । खाता सञ्चालन नहुँदा अस्पतालले अहिले पनि आफूले आम्दानी गरेको रकम खर्च गर्न सकेको छैन ।
गेटा अस्पतालका निर्देशक प्रमोद यादवले अस्थायी अस्पताल करारका कर्मचारीको भरमा चलेकाले आफ्नै खाता खोल्न नमिलेको बताए । उनले आगामी आर्थिक वर्षमा खाता खोल्ने प्रक्रिया अगाडि बढाएको बताउँदै खाता सञ्चालन नहुँदा अस्पतालले गरेको आम्दानी खर्च गर्न सक्ने अवस्था नभएको बताए ।


‘कुनै पनि अस्पतालमा सञ्चालनका लागि विकास समिति हुन्छ । तर, हामी सँग कुनै सहयोग समिति छैन । हामी सँग कुनै बैङ्क खाता पनि छैन’ उनले भने ‘हामी सँग आफ्नै खाता नहुँदा टिकट काटेको, ल्याब टेस्टको पैसा पनि रिसाइकल गर्न पाएका छैनौ ।’

उनले ५० शय्याको अस्थायी अस्पताल सञ्चालन भए पनि अस्थायी दरबन्दी भएकाले सञ्चालनमा समस्या भएको बताए । ‘अस्थायी दरबन्दी भएकाले हरेक वर्ष असार २५ गते म्याद सकिने साउन देखि कसरी तलब खाने, जनशक्ति कसरी राख्ने समस्या हुन्छ’ उनले भने ‘बिचमा ३ महिना अस्पताल नेतृत्व विहीन हुँदा तीन महिना कर्मचारीले तलब पनि खान पाएनन् । यसरी सेवा सुविधा मै ग्याप हुँदा सर्भिसको वृद्धि भएन । अहिले एकै पटक धेरै परिवर्तन गर्न सकिएन ।’
उनले ५० बेडको अस्पतालमा १४१ जना मात्रै राख्न मिल्ने भए पनि त्यसमा पनि पदपूर्ति हुन नसकेकाले आफू आएपछि जनशक्ति पूर्ति भएको बताए । तर, यसबिचमा सरुवा, बढुवा भएर जनशक्ति जाने क्रम चलिरहेको उनले बताए ।

उनले ५० शय्याको अस्पतालमा कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताउँदै यो जिल्ला अस्पताल सरह मात्रै भएको बताए । उनले यसलाई ३ सय शय्याको अस्पताल बनाउनको लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए ।
गेटामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०८० भदौ २१ गते गरेको निर्णय अनुसार सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी २०८० कार्तिक १ गते देखि अस्पताल सञ्चालनमा आएको थियो ।

सम्बन्धित समाचार :गेटा अस्पतालका निर्देशक र सङ्घर्ष समिति बिच छलफल, सेवा प्रभावकारी बनाउन आग्रह