खाेज्नुहाेस

निसर्गमा ओठ तालु फाटेकाहरूको निःशुल्क शल्यक्रिया गरिने, बाटो खर्च पनि दिइने

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा ओठ तथा तालु फाटेकाहरूको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिएको छ । गैर नाफामूलक संस्था स्माइल ट्रेनको सहयोगमा निसर्गले ओठ तथा तालु फाटेकाहरूको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरेको हो ।

उक्त सेवा अन्तरगत शल्यक्रिया सहित सम्पुर्ण उपचारमा लाग्ने खर्च निःशुल्क हुने र यातायात खर्च पनि दिइने अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए । उनले बिरामी सहित कुरुवाका लागि पनि निःशुल्क बस्न, खान व्यवस्था गरिने बताए । उनका अनुसार सुदूरपश्चिममा सञ्चालन गरिएको यो पहिलो कार्यक्रम हो ।

attariya hospital

‘निसर्ग अस्पतालले ओठ तथा तालु फाटेकाहरूको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरेर उपचारका लागि नेपालगन्ज, काठमाण्डौं जानुपर्ने अवस्थाको अन्त्य गरेको छ’ उनले भने ‘हामीले यो सेवा युएसएको गैर नाफामुलक सस्था स्माइल ट्रेनको सहयोगमा सञ्चालन गरेका छौ । यो संस्थाले संसारका ७० देशमा आफ्ना सेवा सञ्चालन गरेको छ ।’ उनले निसर्गमा यो सेवा सुरु गर्न स्माइल ट्रेनको साउथ एसिया डिभिजनको दक्ष टिम आएर अस्पतालको निरीक्षण गरेर सेवा सञ्चालनमा आएको बताए ।

उनले यसअघि यस्ता सेवा काठमाण्डौंबाट डाक्टर ल्याएर गर्नुपर्ने अवस्था रहेकोमा अब निसर्गमा नियमित निःशुल्क सेवा सञ्चालन भएको बताए । ‘यो सेवा सञ्चालन पछि सुदूरपश्चिम मात्रै नभएर छिमेकी प्रदेश लुम्बिनी कर्णालीका बिरामीले लाभ लिन सक्ने छन्’ उनले भने ‘यो सेवा अन्तरगत सबै सेवा निःशुल्क हुने भएकाले ओठ तथा तालु फाटेका बिरामीलाई सेवा लिन आग्रह गर्दछु ।’

navjiwan hospital

विशेषज्ञ डाक्टर दीपक ठकुराठीले सुदूरपश्चिममा ओठ तथा तालु फाटेका बिरामी उपचारबाट वञ्चित हुने गरेकोमा अब सहज हुने बताए ।

उनले ओठ तालु फाटेका बिरामीको समस्या जन्मजात बाटै सुरु हुने भएकाले यसलाई विभिन्न चरणमा उपचार गर्नुपर्ने बताए । ‘यसको शल्यक्रिया एकै पटक नभएर जन्मेदेखि युवावस्था सम्म विभिन्न चरणमा हुने गर्दछ । यस्ता बिरामीलाई सुरुमा रुघाखोकी बढी लाग्ने, घाटीको समस्या हुने, अन्य समस्या पनि देखिन्छन्’ उनले भने ‘यो समस्या भएपछि पनि अहिले पनि धेरै यसको उपचार हुन्छ भनेर थाहा नपाएका पनि हुन्छन् ।

यो समस्या सुदूरपश्चिममा झन् बढी छ । अब यो सेवा सुरु भए पनि सहज हुने भयो ।’ उनले विगत ८ वर्षको निरन्तरको प्रयासपछि यो सेवा निसर्गमा सञ्चालन गर्न सफल भएको बताए । उनले यो समस्या प्रति ५ सय जनामध्ये एक जनामा देखिने बताए ।