धनगढी – कैलालीको गौरीफण्टा नाकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका ५ जना महिलामा शुक्रबार कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएकामध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् । पाँचै जना भारतको गुजरातबाट फर्केका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्रिनगर नाकामा शुक्रबार कोरोनाको लक्षण देखिएका ३० जनामा एण्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी स्रोत व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको जोशीले बताए । यसअघि त्रिनगर नाकाम बुधबार गरिएको परीक्षणमा तीन जना र बिहीबार एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

















