धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले विगतको तुलनामा प्रदेशको स्वास्थ्य क्षेत्रमा केही सुधार आएको बताएका छन ।

शुक्रबार धनगढीमा आयोजीत स्वास्थ्य सेवा : नीति र पहुँचको समिक्षा कार्यक्रममा बोल्दै उनले विगतलाई हेर्दा अहिले स्वास्थ्य क्षेत्रमा सुधार आएको बताएका हुन । ‘विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा केही सुधार आएको छ’ उनले भने ‘प्रदेश सरकारले अझै बढी सुधार गर्ने प्रयास गरिरहेको छ ।’

मन्त्री खड्काले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चाँडै अगाडी बढाउनुपर्ने पनि बताए । हाल सञ्चालनमा रहेको गेटा अस्पताललाई तत्काल ३०० शैय्यामा स्तरोन्नति गरेर स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चाडो अगाडि बढाउन जरुरी रहेको उनको भनाई छ ।
उनले गेटामा सेती प्रादेशिक अस्पतालकै जनशक्ति प्रयोग गर्न सकिने समेत बताए । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभ्ने निर्णय गरिसकेको छ ।













