अत्तरिया – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक सांसदबाट पारित भएपछि अब बजेट सुनिश्चित, पदाधिकारी नियुक्ति र एमबिबिएस कोटा निर्धारण गर्न माग गरिएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पनि अस्पताल सञ्चालन हुने र एमबीबीए पढाई सुरु गर्ने गरी बजेट व्यवस्थापन गर्न माग गरिएको हो ।
बिहीबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको थियो ।

जेठ ४ गतेको प्रतिनिधि सभा बैठकबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित गरेको भन्दै धन्यवाद ज्ञापन गर्दै आवश्यक बजेट, जनशक्ति र उपकरणको यथाशीघ्र व्यवस्थापन गरिदिन माग गरिएको थियो ।

संयोजक लोकराज पाण्डेय (आगो), सचिव धर्मसिंह कुँवर,सह–संयोजक आनन्द प्रसाद भट्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत हुने मिति नजिकिएको अवस्थामा सो बजेट कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध मिलाइदिन आग्रह गरिएको छ ।
त्यस्तै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया र आगामी आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा (एमबिबिएस) का लागि सिट सङ्ख्या निर्धारणको प्रक्रिया अगाडि बढाउन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले सङ्घर्ष समिति लगायतको खबरदारी र नेताहरूको पहलले विधेयक जारी भएको बताए । उनले विधेयक पारित भएपछि अब बजेटको व्यवस्थापन हुनेमा आफू ढुक्क रहेको बताए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बजेटको समय नजिकिएकाले आजै ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बताए ।














