अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षकहरूको दरबन्दी मिलान स्वार्थ केन्द्रित रूपमा गर्न थालेको एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा कृष्णपुर नगर इन्चार्ज गणेश सिंह ऐरीले आरोप लगाएका छन् । मंगलबार नेकपा एमाले कृष्णपुर नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न नीति नियममा रहेर दरबन्दी मिलान गरिनुपर्नेमा स्वार्थ केन्द्रित रूपमा हुन थालेको बताएका हुन ।
‘दरबन्दी मिलान खास गरेर विद्यार्थी सङ्ख्या, त्यहाँको भूगोल, वस्तुगत परिस्थिति अनुसार हुनुपर्ने हो, तर स्वार्थ केन्द्रित हुँदै गर्दा ती सबै कुराहरू ओझेलमा पारिएका छन्’ उनले भने ‘जसलाई सार्नुपर्ने हो, अवधि पुगिसकेको हो त्यसलाई नसार्ने तर जसलाई नसार्दा पनि हुने हो त्यसलाई सार्ने परिस्थितिको निर्माण भएको छ ।’


उनले नगरपालिका आफैले सूचना जारी गरेर ५ वर्ष सेवा अवधि पुरा भएका शिक्षकहरूको दरबन्दी मिलान गर्ने भनेको तर ४ वर्ष पुरा नभएकालाई पनि सारिएको र २० वर्ष पुरा भएकालाई पनि नसारिएको बताए । उनले आफूहरू शिक्षक दरबन्दी मिलान गर्नुहुँदैन भन्ने पक्षमा नरहेको तर नगरपालिकाले सूचना जारी गरेबमोजिम नै दरबन्दी मिलान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । साथै नगरपालिकाले गरिरहेको शिक्षक दरबन्दीको विषयमा आफूले सामाजिक सञ्जालमा हालेको स्ट्याटसलाई लक्षित गरेर नगरप्रमुखले शिक्षकहरूले राम्रो नतिजा नदिएको भन्ने भाष्य निर्माण गर्नु शिक्षकहरू प्रतिको अपमान भएको ऐरीले बताए ।
‘मैले शिक्षक दरबन्दीको विषयमा सामाजिक सञ्जालमा हालेको स्ट्याटसमा नगरप्रमुखज्यूले नेकपा एमाले मात्रै हैन शिक्षकहरूलाई समेत आपेक्ष लाग्ने गरेर शिक्षकहरूले राम्रो प्रदर्शन नगरेको, राम्रो नतिजा नदिएको भन्ने नाममा हामीले सारेका छौ भन्ने भाष्य निर्माण गर्नुभएको छ’ उनले भने ‘त्यो भाषाले, त्यो शिक्षकमाथि जुन आरोप लागेको छ, त्यो शिक्षकले अर्को विद्यालयमा गएर राम्रो नतिजा दिन्छ भन्ने ग्यारेन्टी के छ ?’ उनले शिक्षकहरूको योग्यतामाथि प्रश्न चिन्ह उठाएर शैक्षिक गुणस्तरीयता कायम हुने या नहुने भन्ने कुरामा नगरपालिकाले ध्यान दिन समेत आग्रह गरे ।



















