खाेज्नुहाेस

विधेयक पास भएपछि सुदूरपश्चिममा खुसीयाली

Image

अत्तरिया – निकै लामो प्रतीक्षापछि आइतबार ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएपछि सुदूरपश्चिममा खुसीयाली मनाइएको छ । देशैभरका ६ वटा प्रदेशमा मेडिकल कलेज, प्रतिष्ठान स्थापना हुँदा पनि सुदूरपश्चिममा एउटा चिकित्सा शिक्षण संस्था खुल्ने ढोका खुलेपछि खुसीयाली मनाइएको हो । प्रतिनिधि सभाको बैठकले देशकै पहिलो स्वास्थ्य शिक्षा सम्बन्धी विश्वविद्यालयको विधेयक पारित गरेको थियो । विधेयक पारित भए पनि निकै लामो समय चलेको मोडालिटीको अन्योल पनि टुङ्गिएको छ भने देशकै पहिलो सुदूरपश्चिम स्वास्थ्यको केन्द्र बन्ने भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन ।

स्थानीय पार्वती महराले विधेयक पारित भएपछि निकै खुसी भएको बताइन । उनले अब आफ्ना छोराछोरी, नातिनातिनाले यसै ठाउँमा पढ्न पाउने बताइन् । ‘हामीलाई धेरै खुसी लागेको छ । किनभने हाम्रा छोराछोरी होलान्, नातिनातिना होलान्, रोजीरोटी पाउलान्, पढ्न पाउलान्’ उनले भनिन् ‘यहाँबाट काठमाण्डौं जानुपथ्र्यो । अब यही पढ्न पाउन्छन ।’

attariya hospital

आइतबार साँझ विधेयक पारित भएको खुसीयालीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा दीप प्रज्वलन गरिएको थियो । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले लामो समयको सङ्घर्षपछि सफलता मिलेको भन्दै दीप प्रज्वलन गरेको थियो । सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले (आगो) ले विधेयक पास गरेकोमा सरकारलाई धन्यावाद दिँदै लामो सङ्घर्ष पछि सुदूरपश्चिमबासिका लागि ठुलो उपलब्धि भएको बताए । ‘निकै लामो सङ्घर्ष पछि देशभरिमा २५ भन्दा बढी कलेज, प्रतिष्ठान भइसक्दा पनि सुदूरपश्चिममा एउटा पनि थिएन’ उनले भने ‘आज यो विधेयक पास गर्ने सरकारलाई धन्यावाद ज्ञापन गर्न चाहन्छु ।’ उनले निकै लामो लडाइमा साथ दिने सबैलाई धन्यावाद ज्ञापन गरे ।

उनले विधेयक पारित भए पनि आन्दोलन भने नरोकिएको बताए । ‘जबसम्म आप्रोन लगाएको विद्यार्थी यहाँबाट पढ्न पाउँदैनन्, तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ’ उनले भने ‘कम्तीमा ६ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्छ ।’

navjiwan hospital

उनले अब सुदूरपश्चिम मेडिकल हब बन्ने बताए । ‘अहिले सम्म हामी उपचारका लागि प्लेन चढेर काठमाडौँ जान्थ्यौ, अब काठमाण्डौंका मानिस पनि उपचारका लागि यहाँ आउने छन् ।’

सङ्घर्ष समितिका सदस्य लोकेन्द्र धामीले विधेयक पास भएपछि गेटाको लामो समयदेखिको मोडालिटि विवाद टुङ्गिएको बताए । उनले देशको पहिलो स्वास्थ्य विश्वविद्यालय बनेकाले अब आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर पढाई सुरु गर्नुपर्ने बताए । दीप प्रज्वलन कार्यक्रममा सङ्घर्ष समितिका साथै स्थानीयको ठुलो सङ्ख्यामा सहभागिता रहेको थियो । दीप प्रज्वलन पछि खुसियालिया देउडा पनि खेलिएको थियो ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव प्रतिनिधि सभामा सर्वसम्मत पारित गरिएको थियो । विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो । विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।

भिडियो