खाेज्नुहाेस

अझै भेटिएन अत्तरियामा डीडीसीका लागि जग्गा

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को क्षमता विस्तार र स्थायित्वको लागि जग्गा खोज्ने कामले अझै सार्थकता पाएको छैन । पहिलो पटक अत्तरियामा जग्गा नपाइएको भन्दै डीडीसीलाई धनगढी सार्ने कुरा बाहिरिएपछि पुस १६ गते स्थानीयले डीडीसी कार्यालयमा पुगेर विरोध जनाएका थिए । त्यसको भोलिपल्ट अत्तरियामै जग्गा खोज्ने भन्दै गोदावरी नगरपालिकाका नगरप्रमुखको नेतृत्वमा बसेको बैठकले जग्गा खोज्ने कार्यदल गठन गरेको थियो । त्यसपछि डीडीसीका लागि अत्तरियामा जग्गा खोज्न विभिन्न प्रयास गरिएको बताइए पनि अहिले सम्म त्यसले सार्थकता पाउन नसकेको हो ।

पछिल्लो पटक डीडीसीको जग्गा खोजीका लागि यस क्षेत्रका प्रदेश सांसद देखि मन्त्री सम्मले स्थलगत अवलोकन गरिसकेका भए पनि जग्गाको टुङ्गो भने नलागेको नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए । जग्गा खोज्ने कार्यदलका संयोजक समेत रहेका उनले विभिन्न ठाउँमा जग्गा हेरे पनि अझै टुङ्गो नलागेको बताए ।

attariya hospital

कार्यदलले यसबिचमा हाल डीडीसी रहेको कृषि उपज थोक बजार सँगै जोडिएको चाहना सामुदायिक वन, दिव्य रोजिन एन्ड टर्पेन्टाईनको जग्गा डीडीसीलाई दिने विषयमा छलफल अगाडी बढाएको भए पनि जग्गा हस्तान्तरण गर्ने कामका लागि भने समय लाग्ने प्रवक्ता भट्टले बताए ।

navjiwan hospital

यसबिच बुधवार डीडीसीका लागि जग्गा खोजी गरिरहँदा पनि भित्रभित्रै सार्ने तयारी चलिरहेको भन्दै नगरपालिकाले डीडीसीका कार्यालय प्रमुख निरञ्जन भट्टराई सँग छलफल गरेको छ । छलफलमा डीडीसीका लागि जग्गा खोज्ने काम जारी रहेकाले सार्ने तयारी नगर्न आग्रह गरिएको प्रवक्ता भट्टले बताए ।

‘भित्र भित्रै धनगढी सार्ने प्रयास भएको सुन्नमा आएकाले हामीले डीडीसीका हाकिमलाई नगरपालिका कार्यालयमा बोलाएर छलफल गरेका थियौ’ उनले भने ‘कार्यालय प्रमुखले मैले डीडीसी सार्दैन भने । हामीले जसरी भए पनि जग्गा उपलब्ध गराउँन्छौ भनेर प्रतिबद्धता ग¥यौ ।’ उनले जग्गा खोजीका लागि विभिन्न ठाउँमा छलफल अगाडि बढाएका भए पनि निर्णय हुन बाकी रहेको बताए । ‘जग्गा खोजीको काम तुरुन्तै हुँदैन । यसमा समय लाग्छ’ उनले भने ।

नगरपालिकामा भएको छलफलमा प्रदेश सांसद तुलसी देवकोटा, नगरप्रमुख वीरेन्द्र भट्ट, जग्गा खोज्ने कार्यदलका सदस्य वसन्त रोकाया (ललित), लोकराज पाण्डेय (आगो) लगायतको सहभागिता रहेको थियो ।
अत्तरियामा २०६७ मा स्थापना भएको डीडीसी अहिले कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ । डीडीसीले हाल कैलाली सहित कञ्चनपुर र डडेल्धुराको आलितालका गरी करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । यस्तै उत्पादित दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ ।

डीडीसी अत्तरियामा प्रत्यक्ष रूपमा ३० जना (१६ जना करार, १४ जना स्थायी) ले रोजगारी पाएका छ । डीडीसीको क्षेत्र विस्तार गर्न आवश्यक भएको भन्दै उक्त कार्यालयले गोदावरी क्षेत्रमा जग्गा नपाइएको भन्दै धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमाका सार्ने प्रक्रिया अगाडि बढाएको थियो ।