अत्तरिया – सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले महायज्ञमा माग गरिएको योजना रातो किताबमा पार्ने प्रतिबद्धता जनाएका छन् । सोमबार कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा महायज्ञको समापन गर्दै राज्यमन्त्री बमले महायज्ञ मार्फत बनाउन खोजेको योजना निर्माणका लागि रातो किताबमा योजना पार्ने प्रतिबद्धता जनाएका हुन ।
‘तपाईँहरूले आज मलाई एक अर्को बोझ थप्नुभएको छ । यो बोझ भनेको व्यक्तिगत होइन । यो त ईश्वरले म माथि थापेको तैँले गर्नपर्छ भनेर अह्राएको सम्झेको छु । मैले यसलाई हृदयमा लिएको छु’ उनले भने ‘त्यसैले म के गर्न सक्छु म गर्छु । आजको यो कार्यक्रम स्थलको निमित्तको योजना आउने रातो किताबमा तपाईँले देख्नुहुनेछ । मलाई स्टमेट पनि चाहिएन, मलाई पत्र पनि चाहिएन, मलाई सिफारिस पनि चाहिएन, तर के बनाउनु हुने हो त्यो फोनमा भए पनि टिपाइदिनुहोला ।’

उनले गएको वर्ष केही गर्न नसके पछि चालु आर्थिक वर्षमा लालपुरमा ३ वटा योजना पार्न सफल भएको बताए । ‘गएको वर्ष मैले केही गर्न सकेन । कसैले पनि सकेन । त्यो बेला परिस्थिति फरक थियो । यो चालु आर्थिक वर्षमा मैले यो वडामा तीन वटा योजना हालेको थिए । नवदुर्गा माविमा भवन, शिवराज खोलामा पुल, दलित बस्तीमा पञ्चेबाजा खरिद गर्ने योजना परेको छ’ उनले भने ‘आगामी वर्ष दुई÷सडक, विद्यालय, खानेपानीको माग आएको छ । यो प्राङ्ग्रणमा बोल्दा गर्दै म प्रति अर्को माग थपिएको छ । सांसद विकास कोषबाटै भए पनि हामीलाई रकम माग गर्नु भएको छ । म कति सक्छु । म काम गर्छु ।’

शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्ने योजना सहित वैशाख २३ गते देखि महायज्ञ आयोजना गरिएको थियो । उक्त महायज्ञको समापन समारोहमा राज्यमन्त्री बमले महायज्ञले अघि सारेको योजना पुरा गर्ने प्रतिबद्धता जनाएका हुन ।
जय गोदावरी अभियन्ता एवम् योजनाका परिकल्पनाकार मध्येका एक विष्णु जोशीले उद्यान फूलहरूले सुसज्जित भएको आध्यात्मिक पार्क हुने बताए ।
उनले उद्यान पार्कको भूगोल क्षेत्रलाई सिँगार्ने, वरिपरि घेर बार गर्ने, यसको गेट बनाउने, भित्र गार्डेन बनाउने, मनोमञ्जन, भजन कीर्तनको भवन बनाउने जस्ता ठुलो काम गर्ने योजना बनाएको बताए । उक्त उद्यानका लागि महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

















