अत्तरिया – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न सबैलाई आह्वान गरेका छन् ।

२५६९ औं बुद्ध जयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका–१ स्थित बुद्ध विहारमा आयोजित विशेष समारोहमा बोल्दै प्रदेश प्रमुख मियाँले गौतम बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देश आजको समाजमा झनै सान्दर्भिक भएको उल्लेख गरेका थिए । “बुद्धको विचारले समाजमा व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्छ,” उनले भने।

बुद्धजयन्ती समारोह समिति धर्मोदय सभा शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रदेश प्रमुखले सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकताको संरक्षणका लागि बुद्धको शिक्षाले मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।
समारोहमा बुद्ध धर्मका अनुयायीहरू, बुद्धिजीवी, स्थानीय अगुवाहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बुद्धको जन्म, संबोधन र महापरिनिर्वाणको सम्झनामा विशेष श्रद्धाञ्जली अर्पण गरिएको थियो।

















