बाजुरा – बाजुरा जिल्लामा रेबिज विरुद्धको निःशुल्क खोप अभाव भएपछि जनावरले टोकेका बिरामीहरू उपचार नपाएर समस्यामा परेका छन्। जिल्ला अस्पताल बाजुरा लगायतका अन्य स्वास्थ्य केन्द्रहरूमा पनि उक्त खोप उपलब्ध नभएको अस्पतालका प्रमुख डा. सुनिल कुमार शाहले बताए।
उनका अनुसार जङ्गली तथा घरपालुवा जनावरले टोकेपछि दिइने आवश्यक खोप ‘एआरभी’ हाल जिल्ला अस्पतालमा उपलब्ध छैन। ‘यो खोप सुदूरपश्चिम प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट आउने हो, तर हालसम्म प्राप्त नभएकाले अर्को सूचना नआएसम्म सेवा दिन नसकिने स्थिति छ’, उनले भने।


हाल खोप अभाव भएपछि बिरामीहरू अन्यत्रबाट भ्याक्सिन किन्न बाध्य भएका गौमुल गाउँपालिका-६ का स्थानीय रमित विकले बताए। डा. शाहले भने, ‘जिल्ला अस्पताल बाजुरामा हाल खोप छैन। तर बिरामीले बाहिरबाट भ्याक्सिन ल्याएमा हामी अस्पतालमा लगाइदिन्छौं। प्रदेश आपूर्ति केन्द्रबाट खोप आउनासाथ हामी फेरि सेवा सुचारु गर्नेछौं।’
बाजुरा जस्तो दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच पहिले नै सीमित छ। यस्तोमा आवश्यक खोपको अभावले थप समस्या निम्त्याएको छ। जिल्ला अस्पतालले सरकारसँग यथाशीघ्र खोपको व्यवस्था गर्न माग गरेको डाक्टर शाहले बताए।
खोप अभावको कारण आपूर्ति व्यवस्थापन केन्द्रबाट नआएको बताइएको भए पनि यसमा सरकारी समन्वय र प्राथमिकता माथि पनि प्रश्न उठेका छन्। नियमित रूपमा लाग्ने खोप नै नपुगेपछि स्वास्थ्य प्रणालीको समग्र कार्य क्षमतामा पनि शंका उत्पन्न भएको नागरिक समाजका अगुवा लक्ष्मीराज पाध्याले बताए।
