खाेज्नुहाेस

सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ‘आइरन चक्की’ को अभाव

Image

डोटी – सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ‘आइरन चक्की’को अभाव भएको छ । ‘आइरन चक्की’ अभाव हुँदा प्रसूति जाँचका लागि आएका गर्भवती महिला निराश भएर फर्कने गरेका छन् ।

केन्द्रबाट नै यो औषधि खरिद गर्ने बजेट नभएको भनेर परिपत्र गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । ‘केन्द्रको यो पत्र प्राप्त गरेसँगै हामीले डोटीका नौ वटै स्थानीय तहलाई खरिद गर्नु भनेर चिठी पठाएका छौं,’ उनले भने, ‘अहिले हामीलाई कुनै औषधि खरिद गर्ने अधिकार छैन । संघ, प्रदेश र स्थानीय सरकारलाई नै अधिकार दिइएको छ । अब उहाँहरूले आफ्नो तरिकाले औषधि व्यवस्थापन गर्नुहोला ।’

attariya hospital

जिल्लामा औषधि अभावको समस्या आउन सक्छ भनेर ६ महिनाअगाडि नै कुरा उठेको स्वास्थ्य निर्देशनालय राजपुरका प्रमुख डा. खगेन्द्र बमले बताए । उनले भने, ‘हामीले समयमै यसबारे संघ सरकारलाई जानकारी दिएका हौं तर बजेट अभावका कारण औषधि किन्न सकिएको छैन । थोरै मात्रामा स्थानीय सरकारलाई खरिद गर्नु भनेका छौं, उहाँहरु खरिद गर्नुहुन्छ होला ।’ प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटपछि मात्रै खरिद गर्ने बमले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लामा अहिले ५ हजार ६ सय महिला गर्भवती छन् । तर जिल्लामा आइरन चक्की अभाव भएको कार्यालय प्रमुख झपट ढुंगानाले जानकारी दिए । उनले भने, ‘हामीसँग भएको २० हजार ट्याब्लेट औषधिको म्याद अप्रिलमा सकिएको छ ।’

navjiwan hospital

सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला मानिने बाजुरामा पनि आइरन चक्की अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख महेश चन्दले भने, ‘हामीलाई माथिबाट भएको पत्रचारअनुसार स्थानीय सरकारलाई एक महिनाअघि नै आफै खरिद गर्नु भनेका छौं । अहिले यो औषधि सेवन गर्ने २ हजार ८ सय ४६ जना छन् ।’

maya metro hospital

यस्तै समस्या जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले पनि झेल्दै छ । डडेल्धुरा स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले आफूहरुसँग भएको २ लाख ट्याब्लेट कैलाली पठाएको बताए । कार्यालयको तथ्यांकअनुसार जिल्लामा २ हजार ८ सय ९७ जना गर्भवती छन् । दार्चुलामा भने एक महिनाका लागि आइरन चक्की मौज्दात रहेको कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिए । त्यसपछि के गर्ने भन्ने विषयमा आफूहरु अन्योलमा परेको उनको भनाइ छ ।

सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि समस्या देखिएको छ । कञ्चनपुरमा ११ हजार २ सय ८ महिला गर्भवती रहेको कार्यालय प्रमुख ओम प्रकाश जोशीले बताए । डोटीमा गर्भवतीको तथ्यांक यकिन नभएको कार्यालय प्रमुख रमेश मलासीले बताए । ‘हामीले जिल्लाका सबै स्थानीय तहलाई पत्र पठाएका छौं,’ उनले भने, ‘अब खरिद गर्नुहुन्छ होला ।’

Karma Consultancy

कैलालीमा पनि आइरन चक्की अभाव भएको स्वास्थ्य सूचना अधिकारी तेजविक्रम शाहीले बताए । सुदूरपश्चिम प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कैलालीका अनुसार अहिले प्रदेशभर नै आइरन चक्कीको अभाव रहेको कार्यालय प्रमुख झनक ढुंगानाले बताए । सरकारी स्वास्थ्य संस्थामा आइरन चक्की अभाव भए पनि निजी क्लिनिकहरूले बिक्री गरिरहेका छन् । यो औषधि नहुँदा गर्भवती र नवजात शिशुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।