डडेल्धुरा– डडेल्धुरामा वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–६ दमडा स्थित कालापथ्थर सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–७ निवासी २७ वर्षीय सुनिल कैनीलाई पक्राउ गरेको हो ।

वन क्षेत्रमा आगलागी भएको सूचना पछि खटिएको प्रहरीको टोलीले सुनिललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनलाई प्रहरीले आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ ।