बैतडी– बैतडीको मेलौली नगरपालिकाले सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्न थालेको छ । नगरपालिकाले ‘उपमेयरको कोसेली’ कार्यक्रम अन्तरगत नगरभित्र रहेका सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्न थालेको हो ।
स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई चना र सरसफाइका सामग्रीसहितको कोसेली वितरण गर्ने कार्य शुरु भएको नगरपालिकाले जनाएको छ । नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट कोसेली वितरण कार्य शुरु गरिएको छ ।


नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट उक्त कोसेली वितरण गरिने सिनियर अहेव अधिकृत राजबहादुर चन्दले बताए । कोसेलीमा चनाको दाल, ब्रस, कोलगेट, नेलकटर लगायतका सरसफाइका सामग्री राखिएका उनले बताए ।
सुत्केरी अवस्थामा अन्य समयको तुलनामा पोषिलो खानेकुरा र सरसफाइ आवश्यक हुने भएकाले सोही सन्देश दिन कोसेली वितरण गर्ने कार्य शुरु गरिएको चन्दले बताए । नगरपालिकाभरीका २ सय ५० जना सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्ने लक्ष्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह भाटले बताए ।
संस्थागत सुत्केरीको संख्या बढाउने, आमा र शिशुको मृत्यु रोक्ने तथा सुत्केरी अवस्थामा आमाको हेरचाह ध्यान दिने कुराको विकास गराउन उपमेयरको कोसेली वितरण शुरु गरिएको उनले बताए ।
