अछाम– अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान गरेको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान सुरु गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरीले एक कार्यक्रममार्फत विमानस्थलमा पहिलो पटक व्यावसायिक उडानको उद्घाटन गरेका छन । कार्यक्रमा बोल्दै मन्त्री चौधरीले कमलबजार विमानस्थलको कालोपत्रे गर्न र नियमित उडान गर्न भरपुर प्रयास गर्ने बताए । उनले तारा एयरलाइन्सको व्यावसायिक उडान सुरु भएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज –नेपालगन्ज कमलबजार कनेक्टिङ फलाईटमार्फत व्यवसायीक उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले जानकारी दिए ।
यसअघि फाल्गुन २५ गतेदेखि नियमित उडान हुने भनिएता पनि सो दिन प्रतिकुल मौसमका कारण पहिलो उडान अवरुद्ध भएको थियो । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो ।