अत्तरिया– कैलालीको अत्तरियामा रहेको अत्तरिया तेक्वान्दो डोजाङ्गको स्थापना दिवस मनाईएको छ । आईतबार डोजाङ्गको ८औ स्थापना दिवस मनाईएको हो ।

२०७४ सालमा स्थापना भएको अत्तरिया डोजाङ्गले विभिन्न आरोहअवरोहहरु पार गर्दै ८औ स्थापना दिवस मनाउन सफल भएको डोजाङ्ग प्रमुख इन्द्र बहादुर सिँहले जानकारी दिए । उनले स्थापना देखी हालसम्म डोजाङ्गले हजारौ खेलाडीहरुलाई प्रशिक्षण दिईसकेको बताए । ‘पछिल्लो ८ वर्षमा यो डोजाङ्गबाट हजारौँ खेलाडीहरुले प्रशिक्षण लिईसकेका छन’ उनले भने ‘त्यसमध्ये केही राष्ट्रिय लेबलका खेलाडीहरु पनि उत्पादन गर्न पनि डोजाङ्ग सफल भएको छ ।’

उनले खेलाडीहरुलाई अत्तरियामा डोजाङ्ग कसरी सुरु भएको भन्ने विषयमा जानकारी दिन तथा खेलाडीहरुका विभिन्न गतिविधिहरु देखाउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बेल्ट प्रमोट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिनुका साथै राष्ट्रियस्तरका प्रतियोगितामा मेडल प्राप्त गर्न सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।
‘यो डोजाङ्गबाट हालसम्म करिब १५ जना राष्ट्रिय खेलाडी तथा केही राष्ट्रिय निर्णायकहरु उत्पादन गरिसकेका छौ’ उनले भने ‘राष्ट्रिय खेलाडीहरुमध्ये कतिपयले मेडल समेत पाउन सफल भएका छन ।’ डोजाङ्ग प्रमुख सिँहको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– २ का वडाध्यक्ष यज्ञ बहादुर महरा रहेका थिए ।