
डडेल्धुरा – सडक बत्ती बिग्रिएपछि अमरगढी नगरपालिका क्षेत्र साँझपख अन्धकारमा डुब्ने गरेको छ। जिल्लाको सदरमुकामसमेत रहेको बजार क्षेत्रमा जडान गरिएका १२३ वटा सौर्य बत्तीमध्ये अधिकांश बिग्रिएका छन्। २०७४ सालमा प्रति सेट एक लाख रुपैयाँ खर्चेर जडान गरिएका बत्तीहरू मर्मत नहुँदा सर्वसाधारणलाई हिँडडुल गर्न अप्ठ्यारो भएको छ।
बागबजार, तुफानडाँडा, कीर्तिपुर, पोखरा, स्याउले र खलंगा बजार क्षेत्रमा जडान गरिएका बत्ती नबलेपछि चोरी, डकैती लगायतका आपराधिक क्रियाकलाप बढ्ने जोखिम रहेको प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।
होटल व्यवसायी धर्मदेव थापा र व्यापारी कृष्णदत्त जोशीले राति व्यवसाय सञ्चालनमा असहजता भएको गुनासो गरेका छन्। विद्यार्थीहरू बिहानै मोबाइलको टर्च बालेर हिँड्न बाध्य छन्।
सडक बत्ती मर्मतबारे पटकपटक छलफल भए पनि काम अघि नबढेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए। उपप्रमुख पार्वती झुकाल र सूचना अधिकारी मीनराज ओझाका अनुसार बजेट अभावका कारण मर्मत गर्न नसकिएको हो।
इन्जिनियर कविन्द्र भट्टले बत्ती सर्भे भइरहेको र कार्यपालिकाले बजेट छुट्याएपछि मर्मत सुरु हुने जानकारी दिए। ब्याट्रीको न्यून गुणस्तर पनि समस्या भएको उनको भनाइ छ।