नेपालमा मानव बेचबिखन रोकथाम सधैं चुनौतीपूर्ण विषय रहँदै आएको छ । प्रविधिको दुरुपयोग तथा खुला सीमाका कारण यसको जोखिम झन् बढ्दै गएको छ । मानव बेचबिखन विशेष गरी खुला सीमा भएका क्षेत्रहरूमा बढी हुने गरेको पाइन्छ । गैरसरकारी संस्थाहरूका तथ्याङ्कअनुसार कैलाली कञ्चनपुरबाट वार्षिक औसतमा २८० जना मानव बेचबिखनमा पर्ने गरेका छन् । यस अपराधलाई रोक्नका लागि राज्यको विशेष भूमिका अपरिहार्य छ । हाल सञ्चालनमा रहेका सुरक्षा संरचनाहरूलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता छ ।

प्रविधिको दुरुपयोगले मानव बेचबिखनको स्वरूप झन् जटिल बनेको छ । सामाजिक सञ्जालमार्फत ठगी तथा शोषणका घटनाहरू बढ्दै गएका छन् । सुरक्षाका लागि प्रहरी तथा अन्य सरकारी निकायहरू सक्रिय भए पनि सीमित स्रोत तथा जटिल अनुसन्धान प्रक्रियाका कारण प्रभावकारी नियन्त्रण गर्न कठिनाइ भइरहेको छ ।

स्थानीय तह र समुदायको भूमिका पनि महत्त्वपूर्ण छ । गोदावरी नगरपालिकाले नगर स्तरीय मानव बेचबिखन समिति गठन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारले पनि विभिन्न नीति तथा कार्यक्रम अघि बढाएको छ तर, नीति निर्माण मात्र पर्याप्त छैन, यसको प्रभावकारी कार्यान्वयन जरुरी छ ।

मानव बेचबिखन रोकथामका लागि शिक्षा, सचेतना र कानुनी कठोरता आवश्यक छ । विद्यालय स्तरबाट नै यससम्बन्धी जानकारी दिने तथा प्रविधिको सही प्रयोगबारे चेतना अभिवृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुपर्छ । साथै, युवाहरूलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सहभागी गराएर समाधानका नयाँ बाटोहरू खोज्न आवश्यक छ ।
समग्रमा, मानव बेचबिखनको रोकथामका लागि प्रविधिको सकारात्मक उपयोग, कानुनी संयन्त्रको प्रभावकारी कार्यान्वयन, सीमा क्षेत्रमा कडाइ तथा समुदायस्तरको जागरुकता अभिवृद्धि अपरिहार्य छ । सबै पक्षको सहकार्यबाट मात्रै यस अपराधलाई न्यूनिकरण गर्न सकिन्छ ।