काठमाडौं – नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा असार ३ गते सुदूरपश्चिम प्रदेशको अछाममा ‘रामारोशन स्काई रन’ हुने भएको छ । नार्फले पहिलोपटक आधिकारिक स्काई रनिङ प्रतियोगिताका आयोजना गर्न लागेको हो । प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यममा हुनेछ ।
समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ८५० मिटरसम्म फैलिएको रामारोशन क्षेत्रमा हुने प्रतियोगितामा २८ किलोमिटरको स्काई रनिङ च्यालेन्ज खुला पुरुष तथा महिला खुला विधा समावेश गरिएको छ ।

यसैगरी, स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि ५ किलोमिटर सामुदायिक दौडसमेत समावेश गरिएको छ । २८ किलोमिटरको दौड रामेखण्डबाट सुरु भई जिंगाले ताल, लामादह ताल, रोशन पाटन,चाँखाटप, किनिमिनीपाटन लगायतका स्थान हुँदै रामेखण्डमै पुगेर टुंगिनेछ ।
सहभागीको सुरक्षा र सुविधाका लागि मार्गभरि समान ६ वटा वाटर पोइन्ट र चेकपोइन्टको व्यवस्था गरिएको छ । प्रतियोगितामा १०० जनासम्मलाई मात्र सहभागी गराइने छ । जसका लागि जेठ १९ देखि दर्ता खुला गरिएको छ ।

प्रतियोगिताको दर्ता शुल्क दुई हजार ५०० रुपैयाँ तोकिएको छ भने स्थानीयका लागि निःशुल्क गरिएको छ ।
दर्ता गर्ने पहिलो ३० जनालाई काठमाडौं-रामारोशन-काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ । दर्ता भएका सबै सहभागीहरूलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावतको सुविधा दिइनेछ ।
सबै सहभागीले प्रमाणपत्र पाउनेछन् भने २८ किमीको मुख्य दौड पूरा गर्नेलाई फिनिसर मेडल पनि प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ५२ हजार रुपैयाँ छ । मुख्य प्रतिस्पर्धामा पुरुष तथा महिला दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष १० स्थान हासिल गर्नेलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, स्थानीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने ५ किलोमिटर सामुदायिक दौडतर्फ पुरुष तथा महिला दुवै विधाका शीर्ष तीनले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।



















